यो केटो

मैले यो केटोलाई हेरेकी अर्थात देखेकी होइन । मैले त यसकी आमालाई हेरेकी थिएँ ।

ऊ बाक्लो छाला भएकी आइमाई थिई । र भलै ऊ भोकै होस्, खाइलाग्दी देखिन्थी । म माया पनि यस केटाकी आमालाई नै गर्थे । (माफ गर्नुहोला !)

तर जब यो केटो पल्लो खर्कको भट्टीतिर लाग्यो, मेरो मन अल्मलिन थाल्यो । ऊ आफु समान उमेरका केटाहरूको अघिपछि लाग्दै भट्टीतिर दिनदिनै जान थाल्यो । र मैले पनि देखेँ ।

मैले मनमनै हजार कामना गरेँ, यसले जाँड नखाओस् । अथवा भट्टीतिर जादै नजाओस् । भट्टिको बाटो हुँदै हिँड्दै नहिँडोस् ।

हुन त यो केटो मेरो उमेरको थिएन । मैले भाइ भनी बोलाउन सक्थेँ । मैले त्यसो गरिन । किनभने मैले यसलाई नै प्रेम गरेकी थिएँ । यसकी आमा त बाहाना मात्र थिई ।

मैले चियो चर्चो पनि गरेँ, भट्टिबाट घर फर्किदा केटोका खुट्टा लड्खडिएका छन् कि !

मेरो प्यारो गाउँ केही समय अघिसम्म यसरी रक्सीमा चुर्लुम्म डुबिसकेको थिएन । अहिले रक्सी नखाने कोही रहेन । मातेर स्वास्नी चकारी गाली नबोल्ने पनि कोही बाँकी रहेन ।

आधा रातसम्म हल्लै हल्ला । बाटो जाग्राम बसेको धेरै भयो ।

तर यो केटोले यसरी गाली गरेको मैले कहिल्यै सुनिन । एकदम शान्त थियो ।

‘बिन्ती, त्यस केटोलाई रक्सी नखा भनिदिनुस् ।मेरो बिन्ती सुनाइदिनुस्, आमा ! भनिदिनुस् आमा, म उसलाई प्रेम गर्छु !’ आमालाई यो सब बिन्ती सुनाइदिन अनुरोध गर्न सक्ने स्थितिमा म थिइनँ ।

म दिनदिनै अनिदो हुँदै गएँ ।

रातको हल्लामा यस केटोको स्वर मिसिएको छ कि छैन भनी म चनाखो भइरहेँ ।

नभइदेयोस् भनी लाख कामना गर्ने एक मात्र काम !

केटो बरालिदै भट्टितिर लाग्थ्यो । मेरो मन मडारिदै उसलाई हेर्थ्यो ।

यसको बाबुजस्तै यो केटो पनि गोरो वर्णको थियो । कालो र सलक्‍क परेको कपाल थियो उसको । अल्को तर पातलो जिउडाल भएको यो केटो हतपत बोल्दैनथ्यो ।

मैले जस्तै अरूले पनि यो केटोलाई आफ्नो मनमा बसाएका थिए भन्ने कुरामा शंका थिएन । र मैले जस्तै अरूले पनि यसले रक्सी नखाओस् भनी बिहानै बेलुकै बत्ती बालेका नहोलान् भन्‍न सकिने ठाउँ पनि थिएन । केटो थियो नै त्यस्तै !

त्यस दिनसम्म यसले अरूलाई हानी पुर्‍याएको थिएन ।

मध्य दिउसो । झरीले भर्खरै विश्राम लिए पनि आकास खुलिसकेको थिएन । अघिल्ला दुईदिन टन्टलापुर घाम लाग्यो । र त्यसदिन फेरि आकास धुम्मियो ।

भारतको आन्द्र प्रदेशमा आएको हुरीले नेपाली भेगमा पानी प्रशस्तै पठाएको थियो त्यस असोजमा । अनुमान लगाउनेले पनि यही नै भने । र डडुवा लागेका गोलभेडाका बोटतिर हेर्दै सुस्केरा हाले । मेरी आमाले रिस थाम्न सकिनन् र गाली नै गरिन्, ‘कति पर्न सक्दो रछ कुकुरको ….।’

हिजै मात्र औषधी हालेकी थिइन् उनले गोलभेडामा । आज पानी परे व्यर्थ हुने निश्‍चित नै थियो ।

मेरी सानी बहिनी माख्लो गाउँको झगडा हेर्न बेतोडले कुदी ।

म गह्रौ मन बोकेर घाँस काट्न बारीतिर लागेँ । किनभने होहल्ला माख्लो गाउँमा भएको थियो । र यो केटो माख्लो गाउँको थियो ।

‘काटाकाटै चल्यो । दुईजना ठाउँको ठाउँमै मारिए ।’ मेरी सानी बहिनी एकैछिनमा बिजुली बेगमा फर्किई ।

म अझै बारीमै थिएँ । मेरा हात खुकुलिए । घाँस काट्दा काट्दैको हँसिया छोडियो ।

‘केटोलाई त केही भएन । हरे ! के केटो ठीक छ ?’ मैले सोधेँ ।

‘केटोलाई तालुमा खुकुरीले हाने ।’

‘त्यसपछि ?’

‘त्यसपछि केटो भाग्यो ।’

‘काँ?’

‘बारी नै बारी ।’

‘काँ गयो ?’

‘था छैन !’

केटो निर्दोष थियो । तर गरिब थियो ।

केटो टुहुरो थियो । किनभने यसकी आमाले भर्खरै बिश्राम लिएकी थिई ।

केटो शोकमा थियो । तर झगडा हेर्न सबैभन्दा अगाडि उभिएको थियो ।

यसकी आमाले विश्राम लिएका बखत सम्पूर्ण दुखेर रोएकी म । किनकी ऊ अल्पायुमै जीवनसँग थाकेकी थिई ।

आज रुन सकिनँ । घाँटीमा ढुङ्गो जस्तै केही अड्कियो । सास रोकियो ।

बस् मैले आँखा चिम्लिएँ ।

Advertisements

भोली कुन घाम लाग्छ 

आज पनि आमाले केही खाइदिनन् ।

उनी ज्वरोले थलिएकी छिन् । रुघाको ज्वरो !

आमा निस्पट्ट सुत्न सक्दिनन् । सानो तिनो खोकी आउदा पनि घाँटीको नसा फुल्ने गरी खोक्छिन् । जबकी खोकी अघिनै टुङ्गिसकेको हुन्छ ।

औसी सकिएको परेवा । जूनले भर्रखरै जीवन सुरु गरेको रात । साउन १५ !

जब कृष्णले मोदी खोलामा नमुना-नविनालाई बगाइदियो । र, भसक्क निदायो । रेडियो नेपालको समाचार सुनेर आमा चुकचुकाइरहिन् ।

एकदिन कान्छी सासुले आमालाई अपुत्र भनिन् । त्यसदिन हामीलाई अङ्गालो हालेर आमा भलभल रोइन् । उनले हामीलाई सुनका टुक्राको दर्जा दिएकी थिइन् ।

आमाका छोरी नै छोरी । उनले खुलेर हाँसेको देखेपछि गाउँलेका जाम ओठ खुल्छन्, ‘छोरो पनि भए त पोक्ची कति बुर्किन्थी होला ! बुर्किन सजिलो भए जस्तो हो र ! खुट्टा भाँचिएपछि देखि हालिन्छ नि ?’

आमाका माथिल्ला दाँतले तल्लो ओठ कटक्क टोक्छन् । हाँसो दबिन्छ ।

असारमा दिदी अठार लागी । र, पोइल गई । आमाको एउटा खुट्टो भाँचियो । उनले बलियो मन पारेर पानी पधेँरो गरिन् । चोक्टिएको मन कसैलाई देखाइनन् । अब रुनकै लागि आमा दिनहुँ ओढारको गैरा मुन्तिर जान थालिन् । उनका भित्र पसेका आँखा जतिबेला पनि रसिला देखिन् थाले ।

उनको ढुङ्गामा पछार्दा पनि केही नहुने ज्यान थियो । विस्तारै सुकेर त्यान्द्रो भयो । शरीरले निहुँ पायो । आमा रोगी भइन् ।

दिदी पोइल गई । गाउँलेहरूले कुरा गर्ने जागिर पाए । खलामा । आँगनमा । पँधेरोमा । मेलामा । वनमा । जताततै जम्मा हुन थाले । काम गर्दा गर्दा थेत्तर भएको उनीहरूको शरीर कुरा गर्न थालेपछि रौसिन्थ्यो ।  दिदीले उनीहरूलाई भविष्य ज्ञाता बनाइदिएकी थिई । उनीहरू आँखा सन्काएर कलेटी ओठ विस्तारै चलाउथे,  ‘अर्की पनि पोइल जान्छे ।’

‘भन्नै पर्दैन ।’

कोही कोहीले आफ्ना हुर्के बढेका छोरीलाई आगो छुन लगाए, ‘तँ पनि पोक्चीकी छोरी हिँडे जसरी हिँडछेस् की ?’ ‘हिँडदिन ।’

‘हिँडिस् भने ?’

‘हिँड्दिन ।’

‘तिमी मरेपछि काँध थाप्ने मै त हुँ नि !’ जेठाजु पर्नेको छोराले रिस खन्यायो ।

‘तैँले बोक्नु अघि नै म दैलोमा किरा परूँ !’ आमा जङ्गिइन्।

मैले थाहा पाएकी छु, आमाकी सासु बालाई कान्छी स्वास्नी बिहे गरिदिन हरहिसाबले तल्लिन भइन् । उनी एउटी लक्षिनकी बुहारी भित्र्याउन चाहन्थिन् । जसले एउटा नाती जन्माइदेओस् र वंश फैलाओस् ।

बाले आमामाथि न्याय गरे ।

आमाले फेरि पनि हिरिक्क होउन्जेलसम्म खोकिन् । मैले टपरी फेरिदिएँ । खरानी भरेको टपरी एकैछिनमा र्‍याल, सिँगान र खकारले भिजिसक्छ । अहिलेसम्म चारवटा फालिसकेँ ।

म सपना देख्थेँ । मेरो सपनामा आमा रुघा लाग्ने बित्तिकै एउटा राम्रो हाते रुमालले सिँगान पुछ्थिन् ।

मैले सपना देख्न छोडिसकेँ । अहिले म शून्यता हेर्छु । परपरसम्म पनि। त्यहाँ केहि छैन, मात्र शून्यता, अनि शून्यतासँगै टाँस्सिएको निस्पट्ट अँध्यारो ।

धेरै भयो, मैले हेर्न थालेर देख्न छोडिदिएको ! ज्ञान, विज्ञान र रछ्यान ! सब एक नास ! ‘तँ धेरै एकोरी भइस् !’ कहिलेकाहिँ आमा दिक्काउछिन् । उनी चाहन्छिन्, म घरव्यवहारका कुरामा सहभागी भइदिऊँ ।

जताबाट हेरे पनि अपुग, अभाव, फाटेको र टालेको ! टाल्दै गयो फाट्दै जान्छ । हाम्रा घरव्यवहारका कुरा गर्नै पर्दैन, आफैँ गरिन्छन् । देखाउनै पर्दैन, देखिन्छन् ।

आमा बल्ल निदाएकी थिइन् । म बाहिरिएँ । एउटा गतिलो कथा लेख्ने मेरो रहर !

याङ्गीकी आमा पातली, याङ्गीको टाउकोमा ठुँ मारिदिदै थिई ।

याङ्गीले टाउको आमातिर फर्काई र सोधी, ‘आमा, हाम्रा बा काँ गए ?’

‘देश बनाउन !’ पातलीका आँखा अझैसम्म पनि लिखा खोज्नमै व्यस्त थिए ।

‘देश कसरी बन्छ ?’ याङ्गी ।

‘राजा गएछि ।’ पातली ।

उन्नाइस दिने जनआन्दोलन भयो ।

याङ्गीका बा घर आएनन् । पातलीको गाँस फेरिएन । बास फेरिएन । फरिया फेरिएन । अनि फेरि उसको पिर पनि फेरिएन । पसिना फेरिएन । उमेर नपुग्दै मुखमा चाउरी लाउन पाएकी पातलीको केही पनि फेरिएन ।

याङ्गीले फेरि पनि स्कुल भर्ना हुन पाइन ।

पातली याङ्गीको हात समातेर स्कुल गई । ‘तै नि सकिन्छ कि ?’

याङ्गीलाई इस्कुल भर्ना गर्न त पोइसो चाहिने रे । कापी । कलम । इस्कुल डिरेस ।

‘त्यतिको पोइसा काँबाट ल्याउने ?’  पातलीले सुस्केरा हाली ।

‘आमा, राजा गइसको ? याङ्गी ।

‘हो ।’ पातलीले थकित टाउको हल्लाई ।

ढलान गर्न भनेर पातली बिहानै गई । एकापटि्ट कुम च्यात्तिसकेको ह्वाङ्ग्रे घाँगर लाएकी सानी याङ्गीले बासी भात खाई । चोकमा निस्की अनि धुलोसँगै हराई ।

सानी याङ्गी कोपिलामै निमोठिने हो कि ?

पातलीलाई सँधैको चिन्ता ! शिक्षाले निमोठिनबाट जोगाउथ्यो रे । फकिनबाट, लोभिनबाट, अनि बेचिनबाट ! पातलीले सुनेकी मात्र हो ।

सापेक्ष सत्य त मृत्यु मात्र हो । जीवनका बाँकी सबै सत्यहरू निरपेक्ष छन् । पातलीले पढेर होइन परेर जानेकी !

गरिबी अर्को सापेक्ष सत्य हो । पातलीको अनुमान मात्र पनि सहि हुन पुग्छ । उसले जानेबुझेदेखि खुट्टामा एक जोडी खोल हालेकी छैन । जानेबुझेदेखिको एउटै पिरलो, भरे के पकाउने ? भोली के पकाउने ? अहिले उसलाई मात्र होइन, पहिला उसकी आमालाई पनि यहि पिरलो थियो ।

‘र भोलि याङ्गी पनि यो पिरलोबाट अछुत हुन सक्तिन ।’ उसले लामो सुस्केरा हाली ।

हिगुवापाटी पुग्नु पर्दैन । स्कुल मुन्तिरको सार्वजनिक जमिनमा एउटा पाल टाँगिएको छ, पातलीको सम्पूर्ण सम्पती ! पाल भित्र एक कुनोमा एउटा ओछ्यान छ । अर्को कुनोमा अँगेनो । तीनटा थाल, दुईटा कचौरा, डाडु र पन्यौ, एउटा कराई यति नै हुन् ! सिसीमा झुम्रो हालेर बनाएको एउटा टुकी पनि पातलीकै सम्पती हो ।

वर्षामा पातली के गर्छे ? हामीले चिन्ता गरिदिनु पर्दैन ! पातली आफैँ चिन्ता गर्दा गर्दा पातलीएकी छे । वास्तविक नाम सानीकान्छी भएकी पातलीका आँखा भित्रपटि्ट धस्सिएका छन् । अनि गालाका हाड बाहिरपटि्ट बेढङ्गले उछिटि्टएका !

मलाई उसको परिश्रमसँग लोभ छ । ऊ काममा जति पनि जोतिन सक्छे । तर उसको परिश्रम कहाँ जान्छ ? न त ऊ जान्दछे न म ! ऊ पटपटी फुटेका हात खुट्टा हतारमा धुन्छे । र, सहर जान्छे कहिले काहीँ । श्रीमानको खबर बुझ्न ! उसको श्रीमान् पनि बेपत्ताको सूचीमा परेको छ ।

घर छोड्ने रात, पातलीको श्रीमानले भनेको थियो, ‘लोकतन्त्र आएछि धेरै थोक हुन्छ ।’ धेरै थोक भित्र के के पर्छ भनेर पातलीले सोध्न जानिन सायद । अहिले लोकतन्त्र त आयो तर उसको श्रीमानले भने जस्तै धेरै थोक केही आएन । धेरै थोक लिन गएको उसको श्रीमान् समेत आएन ।

‘काकी, बरु टिन हाल्न पाए हुन्थ्यो नि ?’ म ।

‘मगो हुन्छ नानी !’ पातलीले हातका नङ कोट्याउदै भुईतिर हेरेर भनी ।

पातलीको अवस्थाप्रति म अलिकति पनि सहानुभुती देखाउन कन्जुस गर्छु । सहानुभुतीको भ्रम देखाएर आत्मिय बन्न खोज्नुभन्दा वेवास्ते भइदिनुलाई म निक्कै नै उचित ठान्छु ।

यभसको विवाह प्रस्तावलाई समेत मैले आजसम्म तटस्थ भएरै टारिदिएकी छु । सायद म ऊसँग विहे गर्न पनि सक्छु र नगर्न पनि ! यभस कमभन्दा पनि कम बोल्छ । र, म उसलाई मन पराउछु । तर मन पराउने निहुँमा मैले सिङ्गै दिन उसका नाममा खर्चिएकी छैन । न त कुनै रात उसलाई सम्झेरै छर्लङ्ग पारिदिएकी छु !

खोल्टी भाउजुको खरले छाएको छाप्रो बाटैमा थियो । म उनलाई बोलाउन छाप्रोभित्र पसेँ । भित्र पस्ने बेलामा मैले झलक्क सम्झिएँ । दिदी पोइल गएछि, आमाले खोल्टी भाउजूसँग बह पोखेकी थिइन्, ‘भएर के तातोपानी ! तिम्रा छैनन, बरु एक्कै शोग !

आफ्ना सन्तान नभएकी खोल्टी भाउजू अर्काका सन्तानलाई चेपारे लोलोपोतो गर्दिनन् ।

कैयौ दिनदेखि पिठोको मुख देख्न नपाएको त्यो कुनाको घ्याम्पो ! ‘लोकतन्त्र नि अनिकालको अर्का नाउ हो कि ?’ घ्याम्पोको पिँध कोर्न निहुरिएकी खोल्टी भाउजूको मनमा भ्रम मडारिन्छ ।

उनीहरूको आधा हल गोरु पनि नलाग्ने खोरिया बारी छ । फलेको वर्ष मुस्किलले पन्ध्र डोका मकै फल्छ । नफलेको वर्ष…..!

अहिले पहिला जस्तो होइन । ज्यालाको भाउ बढेको छ । सँगै महँगीले गरिबहरूको छाला काढ्न थप सघाएको पनि छ ।

दाइले कमाएको अलिकति पैसा भट्टीतिर जान्छ । हुन त भाउजू आफै पनि दिनमा पाँच खिल्ली देउराली सल्काउछिन् ।  दाइ चुरोट त सल्काउदैनन् । तर सुर चल्यो भने दिनै पिच्छे भट्टी भित्र पस्छन् । अनि मज्जाले पिउछन् । नत्र भने हप्तामा एक दिन पिउने मनमने तालिका बनाका छन् ।

कहिले काही भाउजू सुद्धी हराकी जस्ती देखिन्छिन् । पिलपिल आँखा सहित । भकुर्न पनि मनमने तालिका बनाका हुँदा हुन् दाइले ।

म त्यही हुँदाहुँदै भाउजुले टाउको अलिकति बङ्ग्याएर देउराली सल्काइन् । र, धित मरुन्जेल तनतनी तानिन् । पटकपटक । अनि फ्वाँस फ्वाँस धूँवा उडाइन् । र उनले अलिकति चुरोट बाँकी राखिन् अनि जतनसाथ भूइमा ठोसिन् । ठूटो निभिसकेको कुरामा पक्का भएपछि पोल्टामा हालिन् ।

‘किन भाउजू ?’ मैले उनको पोल्टातिर आँखा तन्काएँ ।

‘आखिरी पर्दालाई जगेडा !’ उनले बेवास्तापूर्वक उत्तर दिइन् । भाउजुका पोल्टामा देउरालीका थुप्रै ठुटाठुटी थिए ।

खरको छानो फेरेर झँगटीले छाउने भाउजूको रहर !

‘दाइ खोई त भाउजू ?’ मेरो प्रश्न ।

‘मालिक्का खेताँ रोपाँइ छ ।’ भाउजू ।

‘अनि भाउजू ?’ म ।

‘आज माइताँ सराद्दे छ ।’ भाउजू ।

भारमा झुन्डिएको, ठुस्स धूँवा गन्हाउने त्यही एउटा फरिया ! आज पनि भाउजुले माइत जानु अघि हतार हतार पछारेर सुकाइन् । अनि सुकेको कम्मरमा मसक्क बाँधिन् ।

‘भाग्यले दिएको !’ उनी सधै यसै भन्थिन् । आज पनि गुनगुन गर्दै सिउदो भरी सिन्दूर हालिन् । अनि भए भरका पोतेका डोरा गलाभरि लगाइन् ।

खोल्टी भाउजु देब्रे गोडो खोच्याउदै हिँडिन् । उनलाई भरे बेलुका जसरी पनि आइपुग्नु थियो । ‘ज्यान ठोकेर नगरी खान पाइदैन ।’ उनले भए भरको जानेको कुरा ! अनि ज्यान ठोकेर गर्दा पनि किन खान पाइदैन त ? अहँ, उनले कहिल्यै जानिनन् ।

दोबाटोमा यभस भेटियो । मैले उसलाई हेरिँन । उसको हातको चुरोट हेरेँ अनि पुरानै प्रश्न सोधेँ, ‘तिमी चुरोट किन तान्छौ ?’ उसले गाला भित्र पसाएर पहिला मज्जाले चुरोट तान्यो । अनि खिस्स हाँस्यो । अहँ, ऊ बोलेन । जति मेरो प्रश्न दर्जनौपटक सोध्दा सोध्दा थोत्रिएको थियो त्यति नै उसको प्रतिक्रिया पनि मेरा लागि नौलो होइन ।

म आफै पनि चुरोट तानेर निक्कै नै बरालिन चाहने आइमाई ! तर मैले सँधै आफूलाई नियन्त्रण गरेँ । त्यसो नहुँदो हो त आजसम्म मैले थुप्रै खिल्ली छोट्याइसकेकी हुने थिएँ । अनि त्यति नै मात्रामा जीवन पनि !

यभस चुरोट सल्काएर जीवन बाँचिरहेको थियो । म चाहिँ जीवन सल्काएर चुरोट बाँचिरहेकी थिएँ ।

पात्र खोजेर फर्किदा आमाको शरीरको तापक्रम एक सय चार पुगेको थियो । अनुमान मात्र हो ! अझै बढी पनि हुन सक्छ ।

आमाले आधा ओठ खोलेर सोधिन्, ‘कहाँ गको थिस् ?’ उनका आँखा अझैसम्म पनि बन्दै थिए, कहिल्यै नखुल्लान् जसरी !

‘पात्र खोज्न !’

‘मलाई लेखिनस् ?’ आमाले क्षीण स्वरमा सोधिन् । अहिलेको पटक उनका ओठ आधा पनि खुलेनन् ।

जसै घाम पश्चिमतिर ढल्किए । आमाले भोलीको घाम पर्खिनन् ।

थाहा छैन आमाको अनुपस्थितिमा भोली कुन घाम लाग्छ !

 

 

मार्दी बेस क्याम्प डायरी

१५ असोज २०७३

  • साबुन र स्याम्फु
  • ट्वाइलेट पेपर र वेट टिस्यु
  • टच (मैले त टाउके बत्ती किन्न खोजेकी थिएँ तर अलिक महँगो लाग्यो । टचले नै काम चल्छ भने भन्ने पनि लाग्यो ।)
  • तीनवटा सुरुवाल
  • एउटा ज्याकेट
  • दुईवटा स्विटर
  • टोपी, पन्जा, मोजा
  • एक जोर जुत्ता (चाहिएको खण्डमा काम लाग्ला)
  • अलिकति सातु
  • सातवटा स्निकरस
  • केही ओखर
  • फोन र क्यामाराका चार्जर
  • सन ब्लक क्रिम
  • कालो चस्मा
  • पानीको बोतल
  • चक्कु

मलाई थाहा छ तिमी आफू जान नपाएकोमा निकै खिन्न छ्यौ । त्यसैले मैले के के हालेँ कुनै वास्ता गरिनौ ।

‘के छुट्यो होला त ?’ मैले सम्झेजति सामान हालेर तिमीतिर हेर्दै सोधेँ ।

बाफ रे ! तिमी त निहुरिमुन्टी लागेर किताब पढे जस्तो पो गर्दै रहिछ्यौ ।

म खाटमा थ्याच्च बसेँ । अनि झोला उचालेँ । कम्तीमा पनि पाँच दिन बोक्नु छ यो झोला ! म यसो गम्दै थिएँ ।

‘बर्षादी हाल्यौ ?

डायरी हाल्यौ ?

कमल हाल्यौ ?

लौरो हाल्यौ ?’ तिमीले सोध्यौ ?

मैले त तिमीले वास्तै गरिनौ भन्ने ठानेकी थिएँ । वास्तवमा तिमी त मेरै चियो गर्दै पो रहिछ्यौ !

‘छत्रे टोपी हाल्यौ ?’

‘लैजान्न !’

‘लैजाऊ, घामले पुर्पुरो सेक्दा लगाउन हुन्छ !’

मैले तिम्रो सल्लाह बमोजिम छत्रे टोपी हालेँ !

तिमी सुत्यौ । म त अझै झोला सुम्सुम्याउँदै थिएँ ।

खासमा म एकदम नयाँ मान्छेसँग जाँदै छु भन्ने पिरलोमा परेकी थिएँ त्यससमयमा ! एउटा कहिल्यै नभेटेको मान्छे । अर्को भेटे जस्तो मात्र भएको मान्छे ।

म कसरी यी दिन काटुँला ! म छिटो छिटो हिँड्ने मान्छे पनि होइन । उनीहरू छिटो छिटो हिँड्लान् । थोरङ्ला जाँदा जसरी हिउँ पर्ला । सम्झ त त्यस्तो बेलामा उनीहरूले नेटो काटे भने मेरो के हालत होला !

तिमीलाई थाहै छ, म त पाइला गन्दै हिँड्छु ।

किन जान लागेको त ? तिमीले यस्तै केही सोधौली (नसोध्न पनि सक्छ्यौ !)

१६ असोज

माइक्रो मुग्लिन पुग्नु अगाडि नै रोकियो । त्यहा मैले दुईवटा अन्डा खाएँ । र चिया पनि । किन हो आजको अन्डा सबैभन्दा मिठो लाग्यो मलाई । अझै भनौ कही नभएको मिठो ।

सुबिकु र अमृतले चाहिँ काठमाडौँबाट झिकाइएका मेसिनवाला बोतामा तरकारी पनि खाए ।

आबुखैरेनीमा हामीले ५० रुपैयाँमा एक दर्जन केरा किन्यौँ । ती काभ्रेबाट ल्याउने मसिना केरा जत्तिकै मिठा थिए ।

११ बजे त हामी पोखरा आइहाल्यौँ ।

९०० रुपैयाँमा ट्याक्सी लिएर फेदी पुग्दा १२ बजेको थियो ।

फेदीमा तिमीले भने जस्तो नमिठो खानेकुरा थिएन ! हामीले सेती नदी हेर्दै घाटवारि बसेर भात खायौँ ।

कस्तो विधी गर्मी भने ! टिसर्ट त भिजिसकेको थियो । यहाँको भातको मुल्य ४५० रुपैयाँ रहेछ । रोडकै छेउमा पनि यस्तो विधी महँगो । मास्तिर त बाँच्न सकिदैन कि क्या हो भने जस्तो भयो एकछिन त !

ढुङ्गा छापेर बनाइएको सिँढी हेर्दै दिक्क लागेको थियो मलाई त नढाटी भन्दा !

घाम थियो पुर्पुरो पोल्ने । कसरी हिँड्नु । त्यो पनि मध्य दिउँसो !

सुबिकुले मलाई छोड्दै छोडेन । ‘म नभएको भए तिमी कहाँ पुग्थ्यौ ?’ मैले बिचमा सोधेँ ।

‘कमसेकम अलिक छिटो हिँड्थेँ । त्यति नै हो !’ जवाफमा उसले भन्यो ।

तिमीलाई थाहा छ कति विधी गर्मी थियो दिन ? अमृतलाई बढी नै पसिना आउने रहेछ । उसको पुरै टिसर्ट भिजेको थियो धम्पुस आइपुग्दा ।

बाटोमा एउटा घर थियो ढुङ्गा छापेको आँगन भएको । घर त धेरै थिए । तर त्यो घर चाहिँ एकदम सफाचट । तर मान्छेको चालचोल थिएन । म आँगनमा गएर हेरेँ । दुईवटा ताल्चा थिए दुईवटै ढोकामा ! यस्तो राम्रो घर छोडेर कहाँ गए होलान् यहाँका मान्छे ? म के अनुमान लगाऊ ! त्यही घर अगाडि केही राता फूल फूलेका थिए । कति निर्मल भने छुँदा पनि दाग लाग्ला जस्तो । मैले त खिचिन । सुबिकुले खिचेको छ ।

धानका बालामा दुध पसेछ । कोदोका बाला लागेछन् । जताततै हरियो । यो मौसम पारेर हिँड्नुको यही त छ आनन्द । बिर्सिएका सम्झना फर्किन्छन् !

तर आज त सातो जाने गरी घाम लागेको थियो । मैले झिलिक्क झिलिक्क झिनुवाको उकालो सम्झिएँ । कही घटिबढि लागेन ।

धम्पुस चढेर चिया खायौँ ।

‘त्यस्तो गर्मीमा पनि चिया ?’ तिमीलाई यस्तै केही लाग्ला । तर बस्दा बस्दै जिउ सेलायो । अनि फेरि ती पारिका डाँडामा लागेको कुहिरो देख्दा पनि जाडो जाडो लाग्यो त्यसैले ।

तिमी आएकी भए कति रमाइलो हुन्थ्यो होला ।

तिमी नआए पनि नरमाइलो चाहिँ भएको छैन है ।

परार अनुजाहरूसँग आएको बेलामा एउटा चउरमा बसेर बिस्कुट खाएका थियौँ नि ? हो, त्यही यसपाली पनि हामीले झोला बिसायौँ । म झाङ यात्रातिर लागेँ । फर्केर आउदा एउटा जुका मसँगै आएछ । नुन भए पनि मेरो केही लागेन । सुबिकुलाई मैले हत्ते हालेर गुहारेँ ! म पनि तिमी जस्तै नडराउन पाए । यतिबेला यत्ति हो मेरो इच्छा । इच्छा पनि ठाउँ, परिस्थिति र समय हेरेर फेरिने रहेछन् ।

५:३० बजे पोथाना आइपुग्नु र आरी घोप्टिए झै गरी पानी पर्नु एकै भयो ।           पचासौँ पटक बिजुली चम्कियो ।

‘मार्दी बेस क्याम्पमा त
जुका भन्दा अरू केही हुँदैन !’ होटेलकी काकीले भनिन् । सुबिकुले मलाई हेर्‍यो । मैले उसलाई ।

यहाँकी काकी सुरुमा रुखो बोलेकी थिइन् । विस्तारै सामान्य भइन् । आज उनी मात्रै रहिछन् । उनका श्रीमानको घाँटीमा टनसिल बढेछ । अप्रेसन गर्न काठमाडौँ पुगेका छन् रे । काकीका एउटा मोड्कुमार छोरा छन् । कुरकुरे र लेज बाहेक केही नचाहिने रे ।

अब म सुत्छु । भोली ६ बजे हिँड्नु छ । पितम देउराली पुगेर चिया खाने योजना भइसकेको छ ।

अब म तिमीलाई भोलि बेलुका मात्र लेख्नेछु । तिमीलाई थाहा छदै छ नि प्रकृतिको स्वर्गीय दृश्य !

१७ असोज

बाहिर आकास कस्तो राम्रो देखिएको थियो । माछापुच्छ्रे माथि जेलिएका तारा । चिन्ता नगर मैले राजिबले जसरी माछापुच्छ्रेलाई साछी राखेर माया प्रिति चाहिँ लगाएकी छैन ।

थाहा छैन अमृत र सुबिकुलाई कस्तो लाग्यो मसँग हिँड्दा । मलाई चाहिँ कत्ति पनि नरमाइलो लागेको छैन ।

हामी रेस्ट क्याम्प १ बजे आइपुगेका थियौँ । एउटा मात्रै मान्द्रे झुप्रो छ त्यहा ।

त्यहा लाक्पा छिरि शेर्पा दाइको टोली भात खाँदै थियो । उनले मेरो अर्थी गन्जी हेरेरै पत्ता लगाइदिए, ‘मेरो साथीको । कहाँ लिनुभयो ?’

‘पोखरामा !’ जवाफमा मैले भनेँ । उनले भने अनुसार उपत्यकामा पनि छ रे अर्थी ।

हामीले पनि भात पकाउन लगायौँ ।

३ बजे हामी फरेस्ट क्याम्प आइहाल्यौँ ।

हामी लो क्याम्पमा ५ बजे आइपुगेका थियौँ ।

बनको बिचमा छ लो क्याम्प । अगाडि माछापुच्छ्रे ।

सुबिकु बाटोभरि मसँगै हिँड्यो । एकदम बिस्तारै ।

झ्याउ लागेका रूख त तिमी आफै अनुमान लगाउन सक्छ्यौ । त्यसमाथि पातलो कुहिरो सम्झ । चिसो बढ्दै थियो । तर अचम्म त्यही बेलामा सर्पले हाम्रो बाटो काट्यो । र सुलुल्ल्ल उकालो लाग्यो । चिसोमा पनि सर्प ! सुबिकुले अलिकति दङ खायो । मैले पनि झन्डै उसकै जति दङ खाएँ । अमृत निकै अगाडि पुगिसकेको थियो ।

मेरो अर्को कोठामा चितवनबाट आएका तीन जना केटा छन् । एउटा त बोली नै पिच्छे ‘मु…’ मिसाउँछ । सुनेरै दिक्क ।

बाटोमा झाङ यात्रातिर जानै खतरा । जताततै जुकै जुका । गै हाले पनि एकदम सिकसिक हुने । बाटोभरि पिसाप बोकेर हिँड्नुको विकल्प थिएन ।

१८ असोज २०७३

बिहान

केहीबेर अघिसम्म माछापुच्छ्रे छोपिएको थियो । अहिले फेरि खुलेको छ ।

कति बज्यो ? घडी छैन । अन्धाधुन्द छु । मोबाइलमा ब्याट्री सकियो ।

राती उस्तो निद्रा लागेन । निदाउँदै । बिउँझिदै । निदाउँदै ।

अहिले ७:३९ मिनेट गएको छ । माथिल्लो होटेलमा बसेका कोरियनहरू हिँडिसके । हामी चाहिँ हतारमा छैनौँ ।

जति हिँडे पनि हाइ क्याम्प पुग्ने त हो नि ! त्यहा भन्दा पर जाने होइन ।

वातावरण खुलेको छ । यहाँ त डाउन लगाउने गरी जाडो छ । त्यहाँ तिमी गन्जीकै भरमा बसेकी हौली । पानी परे नै पिच्छे आमा पिरोलिनु होला । यहाँ पानी परेको छैन । हिजो साँझ बिजुली चाहिँ चम्केको थियो । पानी पर्ने दुस्साहस गरेन ।

बाहिर टन्टलापुर घाम लागेको छ । हाम्रो टाउकैमाथि पश्चिमतिर घनघोर बन छ । हामी त्यही बन हुँदै हाइ क्याम्पतिर लाग्छौँ ।

सुबिकुले पावर ब्याङ्क ल्याएको रहेछ । मेरो फोन चार्ज भएको छ । तर यहाँ नेटवर्क छैन ।

यहाँ नेपाली छ जना छन् । केटी म मात्र ।

मेरो हिँडाइ अलि गतिलो भएको भए म यिनीहरूलाई उछिनी दिन्थेँ बुझ्यौ । यो समय र परिस्थितिसँगै थपिएको अर्को इच्छा ।

मलाई फुड पोइजन होला जस्तो छ । किनभने मलाई केही खान मन लागेको छैन ।

चितवनका केटाहरू उठिसकेका छन् । तर यिनीहरू उठे देखि नै ‘मु…’ बाट कुरा सुरु गर्दा रहेछन् ।

घाममा शितका थोपा हिराझै टल्किएका छन् । तर फेरि बादल लाग्यो । यी थोपा ओझेलमा परे ।

होटेल माछापुच्छ्रे सम्झना रेस्टुरेन्टमा हाम्रो बिल ३४१०|- उठेछ । पैसा धमाधम खर्च हुँदै छ । जति माथि लाग्यो उति महँगो ।

बेलुका,

११ बजे बादल डाँडा आइपुग्नु, बादल र कुहिरो फिँजारिनु एकै भयो ।

के भयो त ?

त्यसैले हामीले हिमाल देखेनौँ । चितवनका केटाहरूले वरिपरि हिमालै हिमाल देखे रे । हामीले उनीहरूका

कुरा सुनेर डाह गर्‍यौँ । अनि चुकचुकायौँ मानौ हिमाल पग्लिएर ढुङ्गा मात्र बाँकी रहेको छ हाम्रो भागमा ।

बादल डाँडा पछि हामीले मुस्किलले कतै डाँडाकाँडा देख्न पायौँ । तर परपर सम्म होइन । यही नजिकै । त्यही पनि स्पष्ट होइन । मैले के लेखिरहनु पर्छ र ! तिमी आफै अनुमान लगाउन सक्छ्यौ ।

हामी हाइ क्याम्प १ बजे आइपुग्यौँ ।

आज पनि हामी आइपुग्नु र पानी पर्न थाल्नु एकै भयो । एक सेकेन्डले हामी बचेका हौँ । नत्र भने राम्ररी चुटिने थियौँ ।

सबैकुरा अन्धा धुन्द छ यहाँ । हामी कस्तो भूगोलमा छौ ? केही पत्तो छैन । हाम्रा वरिपरि सेतै कुहिरो फिँजारिएको छ । एकदम गमदार भएर बसेको बस्यै एसएलसीको जाँचमा बसेको गार्ड जस्तो ।

सारै अल्छि लाग्दो हुने रहेछ यस्तो मौसम । यस्तै हेर्दा हेर्दा हो कि मलाई छाद्न आउला जस्तो भयो । उकुसमुकुस भयो । त्यसैले म दक्षिणतिरको झ्यालबाट बाहिर निस्किएँ । सिकर्मी दाइ राजु क्षेत्री टेबुल बनाइरहेका थिए । मैले पनि ह्यामरले किला ठोकेँ ।

अहिले त्यो टेबुल तयार भइसकेको छ । त्यसमा चितवनका केटाहरूले अड्डा जमाएका छन् एकातिर । अर्को तिर लाक्पा दाइ छन् ।

मेरो टेबुलको पल्लो छेउमा एक जोडी तास खेलिरहेका छन् । फ्रान्सेली केटो । स्वीस केटी ।

पाँच महिना अघि उनीहरूको पहिलो भेट न्युजिल्यान्डमा भएको थियो रे । अहिले उनीहरू नेपाल आएका छन् । तर जब उनीहरू घर फर्किनेछन्, उनीहरू आ-आफ्नै देश फर्किनेछन् । अनि आ-आफ्ना परिवारसँग बस्न थाल्नेछन् । अहिले त अमृत पनि उनीहरूसँगै खेल्न थालिसकेको छ । सुबिकु नजिकै बसेर हेरिरहेको छ ।

हामीले बेलुकाका लागि पिज्जा र भात अर्डर गरेका छौँ । तर मलाई खानेकुरा खाने रहर छैन ।

हामी भात खाने ठाउँमा छौँ । अगाडि दाउरे हिटर छ । त्यसले बाहिरबाट पस्ने चिसोको सातो लिइदिएको छ ।

राती पो कसरी सुत्ने होला । म सुत्ने कोठा त भर्खरै तयार भएको जस्तो छ । भुइँ भर्खरै ढलान गरिएको छ । त्यसैले पानी पलाउने सिमसार जस्तै देखिएको छ ।

तिमी तिलिचो र अन्नपूर्णका घर सम्झेउली । यी होटेल त बन्दै छन् ।

एउटा खच्चडको मुल्य ७०,०००|-

एउटा खच्चडले ७० किलो बोक्छ ।

बोकेर माथी ल्याइएका सामानमा २५ रुपैयाँ थपिन्छ । त्यसैले ६० रुपैयाँ किलोको चामल यहाँ ल्याइपुर्‍याउँदा ८५ रुपैयाँ पर्ने रहेछ । (सुबिकुको हिसाब किताब ।)

यति थाहा हुँदा हुँदै पनि उनीहरू बेलाबेलामा मँहगो भयो भनिरहन्छन् ।

काठमाडौँमा पनि त बाटैका रेस्टुरेन्टमा ठोकी ठोकी पैसा लिन्छन् । जबकी त्यहाँ केही पनि त्यतिबिघ्न परिश्रम गरी ल्याइएका हुँदैनन् ।

यतिबेला म त सर्कलबाट पुरै बाहिरिएको जस्तो अनुभव गरिरहेकी छु ।

एउटा हुल तास खेलिरहेको छ । सुबिकु र अमृत त्यसैमा छन् ।

अर्को टेबुलमा दुई नेपाली केटी थपिएका छन् । चितवनका तीन केटा, लाक्पा दाइ र अर्को नेपाली ट्रेकर झ्वाइखट्टेमा व्यस्त छन् ।

त्यसैले म त चुपचाप छु । कसका गतिबिधि हेर्नु । कहिले तासको टेबुलतिर आँखा तन्काउछु, जसमा म पनि छु । कहिले मेरो देब्रेतिरको टेबुलमा हेर्छु । एउटी नेपाली केटी उसको प्रेम कथा बेलायती केटीलाई सुनाइरहेकी छे ।

म तिमीलाई ३५५० मिटर माथिबाट लेखिरहेकी छु । हिमाल हाम्रै आँखा अगाडि छ रे । यो हल्ला मात्र पनि हुन सक्छ । किनभने अहिले सेतो हिमाल होइन सेतो कुहिरो मात्र देखिएको छ ।

यहाँबाट पोखरा नजिकै देखिँदो रहेछ । अहिले अलिकति खुलेको छ । त्यसैले बिजुली बत्तीमा पौडी खेलिरहेको पोखरा स्पष्टै देखिएको छ ।

भोलि बिहान ५:३० बजे मास्तिर लाग्ने निधो भएको छ ।

त्यसैले चाँडै उठ्नु छ ।

१९ असोज

रातभरि पानी पर्‍यो । अहिले परेको छैन । तर खुलेको पनि छैन । माथि माथि बादल छ । तल एउटा सानो पोखरी जती क्षेत्रफल खुलेको छ ।

चितवनका केटाहरूले मध्य रातमै हल्ला गरेर मलाई कहाँ सुत्न दिए र !

६ बजे हिँडेका हामी १० बजे मार्दीको टुप्पोमा पुग्यौँ । देख्नु सुन्नु रामाराम । देख्ने भनेको कुहिरो ।

हामी बिहानभरि चुइचुइ हिँड्यौँ ।

एउटा पहाड सकियो । फेरि अर्को पहाड सुरु भयो । त्यस्ता पहाड कति चढेँ कति । त्यो पहाड त पक्कै पनि मार्दी बेस क्याम होला । तर होइन । म त निकै पटक भ्रममा परेँ । वास्तवमा क्षितिज भनेको भ्रम नै हो रे ! मैले कतै पढेको ।

आज सुबिकु अगाडि अगाडि हिँड्यो । वास्तवमा ऊ आज निकै हतारिएको थियो । आँखाभरि हिमाल हेर्न । ब्याट्री नसकिउन्जेल फोटो खिच्न ।

केही बेर त घाम र बादल दुवैले झुक्याए । अन्तिममा बादल र कुहिरोकै जित भयो । अनि उनीहरूको झगडा हामीले दर्शक भएर हेर्‍यौँ ।

हामीले ४५०० मिटर माथि पाइला टेक्नु र पानी पर्न थाल्नु एकै भयो आज पनि । 

प्लाष्टिकले काम नगर्दो रहेछ । ओरालो झर्ने बेलामा कम सास्ती भएन । अगाडि सबै भिज्यो । हावाले प्लाष्टिक उडायो । टाउकोमा समाउँदा कुइनैसम्म ज्याकेट र स्विटर भिज्यो । हात ठिहिर्‍यायो ।

अमृत उकालोमा चितुवा । ओरालोमा गैँडा । कति ठाउँमा त ऊ चिप्लेटी खेल्दै खुट्किला ओर्लियो । बाबियो जस्तो देखिने घाँसका झाम्टा समाउँदै । त्यसैले त पछि उसका नाडी वरिपरि अड्डा जमाइरहेका केही जुका भेटिए । उसको रक्ताम्य नाडी र ढाडिएका जुका देखेर म त जिरिङ जिरिङ भएँ ।

यो बाटोको दायाँ बायाँ ठूला ठूला खोल्सा छन् । हामी बिचमा उठेको धारिलो पहाडमा हिँड्छौँ । निकै कठिन । उकालोमा त केही होइन । ओरालोमा चाहिँ तिलिचो जाँदा गेगरिनको बाटोमा चार हात पाउँ टेकेर ओर्लिए जस्तो । त्यहाँ त त्यति धेरै त्यसरी हिँड्नु परेन । भलै गेगरिनको साँघुरो बाटो लामै थियो । यहाँ त अघि नाक ठोक्काएर चढेको उकालो अहिले पुठ्ठो घिसारेर ओर्लिनु पर्ने ।

सायद पानी परेर पनि होला । म त निथ्रुक्कै भिजेकी थिएँ ।

जसै म फिसटेल आइपुगेँ । लाक्पा दाइले ताली पिटे । बाफ रे ! मैले कस्तो अनुभव गरेँ हुँला ।

आएर ओभनमा भिजेका लुगा सुकाएँ । सुरुवाल चाहिँ बाहिरै झुन्ड्याए । किनभने भिजेर हिलाम्य भएको थियो ।

चितवनका केटाहरू बाटैबाट फर्किएछन् । र आजै तल झरेछन् ।

वास्तवमा हामीले आजै यो ठाउँ छोड्ने निर्णय गरेका थियौँ । तिमीलाई सुबिकुले फोन पनि गरेको थियो (मेरो आग्रहमा ) । किनभने मेरो टाउको फुट्ला जस्तै गरी दुखेको थियो । म दाउरे हिटर अगाडि हातले टाउको अड्याएर निहुरिएकी थिएँ । लहरे फोन टाढा थियो ।

आखिर हिँड्ने नै भए पछि बाहिरबाट सुरुवाल ल्याएर लगाएँ । तर फेरि पानी पर्‍यो ।

तिमी पनि यहाँ भइदिएको भए कस्तो रमाइलो हुन्थ्यो हगि !

यहाँ पानी परिरहेको छ । यहाँ घाम लाग्नु र गरिबले सुन देख्नु उस्तै उस्तै रहेछ । एकदम बिरल । अथवा लगभग असम्भव ।

‘खुट्टालाई त दुख हुनु नै थियो, भयो नै । आँखालाई समेत दुख भयो !’ यसो पो भन्यो सुबिकुले फर्किरहँदा । हुन पनि माछापुच्छ्रे र अन्नपूर्ण खोज्दा खोज्दै हामीले कुहिरो पछि कुहिरो देख्यौँ । हिमाल देखेनौँ ।

मार्कले मलाई The Absolutely True Diary of Part-Time Indian दिएका छन् । पढिसकेर फिर्ता गर्ने बाचा सहित । मार्क लाक्पा दाइका पाहुना हुन् ।

पानी परिरह्यो । हामी यतै थन्कियौँ । हामीले भोली खुल्यो भने फेरि ४५०० मिटर पुग्ने निर्णय गरेका छौँ ।

लाक्पा दाइ हिजोदेखि नै खास मौसम पर्खिरहेका छन् । उनी उडेर पोखरा झर्ने सुरमा छन् । तर मैले अघिनै भने नि, यहाँ घाम लाग्नु भनेको गरिबले सुन देख्नु बराबर हो ।

प्रवचन सिंह त लाक्पा दाइका साथी पो रहेछन् । थाहा छ तिमीलाई को हो प्रवचन ? श्रीमती, सन्तान र धनसम्पती छोडेर पशुपतिमा जोगी हुन गएका आधुनिक बुद्ध । बुद्ध यस अर्थमा उनले पनि भएको सांसारिक सुखसयल छोडेर सन्यासी जीवन रोजेका छन् ।

अहिले लगभग बेलुकाको १०:३० बजेको होला । यो मेरो काम चलाउ अनुमान मात्र हो । यतिबेला माथि बाटोमा कुकुर कराइरहेको छ । हिजो चितवने समुह बसेको कोठामा आज पोखरेली समुह छ । थाहा छैन आज कति हल्ला गर्छन् उनीहरू !

कमसेकम खुल्यो भने भोली फेरि हिमाल हेर्न टुप्पैमा जाइनेछ । यति चाहिँ पक्का हो ।

थाहा छैन सुबिकु पहेँलो रङ घृणा गर्छ भने ! तर बाटैभरि उसले लौराले हानी हानी भुइँफूलको अस्तित्व मेटाइदियो । विशेष गरी ती पाँच पत्रे पहेँला फूलको । अनि पानी जमेका साना साना खाडलको पनि लौरोले हानी हानी सात्तो लिइदियो । पानी धमिल्यायो । उसले शीत जमेका त्यान्द्रा पनि देखिसहेन र छताछुल्ल पोखिने गरी हिर्कायो ।

लाक्पा दाइ खाना खाने कोठामा घुरिरहेका छन् ।

बाहिर घण्टी बजिरहेको छ । सायद कुकुरको घाँटीको घण्टी होला । सबैतिर सुनसान छ ।

बाक्लो कुहिरो लागेको छ । भोली खुल्छ खुल्दैन थाहा छैन । यो वाक्य लेखी नसक्दै पानी परेर जस्ता बज्न थालेको छ ।

२० असोज २०७३

रातभरीमा ५० झर जति पानी झर्‍यो । यसको मतलब खुलेन । अहिले त झन बाक्लिएको छ पानी ।

अब कसरी तल झर्नु ? मसँग त बर्षादी पनि छैन ।

बिहानको खाजा खाइ नसक्दै सुबिकु त सुत्न गयो ।

अब यहाँ यही रफ्तारमा थप १ दिन पानी पर्‍यो भने हिउँ पर्छ । पानी चिसिसकेको छ । होटेलका मालिक राजु दाइ पनि यस्तै अनुमान लगाउँछन् ।

पानी झनझन बाक्लिदै छ ।

तै पनि ११ बजे लाक्पा दाइ र मार्कसँगै जसो हामी पनि तलतिर लाग्यौँ ।

बाटो त रोपाइ गर्न ठिक्क पारिएको खेत जस्तो । नरम र चाम्रो हिलो । जुका सुँड ठड्याउँदै ‘हेलो’ ‘हेलो’ गरिरहेका थिए ।

सिदिङ पुग्नै लाग्दा त मलाई जुकाले रुवाए नै । सुबिकु चार पाइला तल झरिसकेको थियो । ऊ फर्किएर आयो । मेरो पाखुरा नाप्दै गरेको जुका बुढी औला र चोर औलाले गुच्चा हाने जसरी हानेर उसकै गृह जिल्ला पठाइदियो ।

हामी ६ घण्टा ओरालो झरेर ५ बजे सिदिङ आइपुग्यौँ ।

२१ असोज

मार्दी बेस क्याम्पबाट रित्तै फर्केको साँचो हो ।

आज खुलेको छ ।

आज त म काठमाडौँ आइपुग्छु ।

सात बज्यो । चिया खाएँ । सम्योग कस्तो ! भैसीको सन्तान जन्मिएको उपलक्ष्यमा बिगौती पनि खान पाइयो ।

तिमी र म पहिला पहिलाका यात्रामा नेपाली केटी भेट्दैनथ्यौँ ।

यो ट्रेकिङमा चाहिँ केही नेपाली केटीहरू भेटिए । ज्यादै नौलो अनुभव भन्नु यति नै हो ।

सम्बन्धहरूको आयु

उसको र मेरो भेट दोबाटोमा हुन्छ । ऊ खोरियामा रुखको घाँस झार्न हिँडेको । म डोको बोकेर खोरियामा भुइँ घाँस काट्न हिँडेकी ।

मलाई ऊ पटक्कै आकर्षक लाग्दैन । यो स्वाभाविक हो । ऊ छैन पनि ! तर किन किन म ऊसँग भावनात्मक रूपमा नजिकिएकी छु ।

‘मलाई उसले केही कुरा भनेको थियो ! के त्यो सत्य हो ?’ उसले सोध्यो ।

‘जस्तो कि ?’ मैले सोधेँ ।

उसलाई सम्झिदा तिता र मिठा दुवै क्षण एकैसाथ ओइरो लाग्छन् । कुन चाहिँलाई पहिला मान्यता दिने ?

यी दुईको तछाडमछाड सहन म मानसिक रूपमा तयार हुन्न । तत्पश्चात म छोडिदिन्छु । सम्झिन्न !

सट्टामा म आँखा चम्लिन्छु र लामो सास फेर्छु । फोक्सोको तल्लो कुनोदेखि नै !

आँखा खोलेर हेर्दा ऊ मलाई हेरिरहेको देख्छु ।

म फिस्स हाँस्छु । ऊ पनि फिस्स हाँस्छ ।

निकैबेर कुरो अगाडि बढ्दैन ।

त्यसपछि म आफै बोल्न थाल्छु, ‘वास्तवमा तिमीले त्यस केटोको बारेमा कुरा गर्दैथ्यौ ! त्यो सत्य हो !’

‘कुन ?’

‘जुन तिमीले मलाई भर्खरै सोध्यौ !! हो, उसको र मेरो भेट महादेवस्थानमा भएको थियो ! परार सालको शिवरात्री मेलामा !’

ऊ थप केही सोध्दैन । एक पाइलो पछि हट्नु अगाडि ऊ एकदम शान्त स्वरमा भन्छ, ‘कुनै दिन फेरि एउटै बाटो परिएछ भने सँगै हिँडौला ! अहिले म फर्किएकै जाति !’

ऊ थप केही बोल्दैन । खुर्पा र नाम्लो डोरी लिएर रित्तै फर्किन्छ ।

म जहाँको त्यति जाम पर्छु । हल्लिन पनि सक्दिन । न त रुन नै सक्छु । न त म उसलाई रोकेर ‘सँगै जाऊँ’ भन्न नै सक्छु ।

सायद यति नै थियो हाम्रो सम्बन्धको आयु !!

म गर्भाधान योग्य छु

जेठ ११

आदरणिय आमा,

मलाई के लाग्छ भने, मैले आजसम्म एउटा बाटो बनाइसक्नु पर्थ्यो। जस्तो कि म आर्थिक रूपमा सबल भइसक्नु पर्थ्यो।

आज म बेस्सरी आँखा चिम्लेर सुत्छु ता कि भद्रगोल परिस्थिति बिर्सिन सकियोस्। जसै म आँखा चिम्लिन्छु आजसम्म भोगिएका तीता अनुभुतीहरूले मलाई थिच्छन्।  मलाई त्यतिकै थकाइ लाग्छ। म निदाउन सक्दिन।

हुन त मैले मकै छर्न आउछु भनेकै छु। म आउछु होला पनि। तर ज्यादा आस नगर्नु।

अस्तिको महिनावारीमा बिछट्टसँग तल्लो पेट दुखेको थियो र धेरै रगत बगेको थियो। अहिले म निक्कै गलेकी छु। हातहरू रगत निख्रिएर पहेँलिएका छन्। शरीरमा तागत सकिएको छ।

आज नागार्जुनतिर ठूलो पानी पर्‍यो। त्यो झरीमा तिमी पनि भिज्यौ होला। तिमीलाई रुघा निको पार्न साह्रै गाह्रो हुन्छ।

अब मलाई तिमीले पैसा पठाइदिनु पर्दैन। मलाई भोकभोकै मर्न मन लागेको। म दरिद्र हुनुमै सन्तुष्ट छु आमा। मसँग अहिले केही नभए पनि कम्तीमा भोकले रन्थनिदा बहेका आसु र अभावसँग जुधेका क्षणहरू सुरक्षित छन्।

वास्तवमा सहरमा पैसा भए सबैथोक किन्न पाइने रहेछ। सहर तुच्छ छ। यहाँ पैसावालहरू दालभात बाहेक पनि धेरै थोक किन्छन्। जस्तो कि प्रेम, यौन, दया, सहानुभुति, सुन्दरता, इज्जत आदि आदि।

भर्खरै मेरो प्रेमीलाई मोटो शरीर भएकी धनी आइमाईले मेरै अगाडि किनी।

मसँग पैसा हुँदो हो म मेरो प्रेमीसँग हुने थिए। सायद म तिमीलाई गुनासो लेख्न भ्याउदिनथे। सट्टामा प्रेमीसँग बसेर निलो आकास हेर्थे हुँला।

धेरै भयो आमा मैले खास होस गुमाएकी छु।

मलाई फेरि दिक्दारीले छोपेको छ। म सहर भरि यसै हिँडिदिन्छु। हिजो किर्तिपुरको चउरमा बसेर निलो आकास हेर्दै रोएँ। जान्दछु मेरो रुवाइको अर्थ छैन। तर आज केहि नबुझे जस्तै भयो।

हिजो डाक्टरले मेरो शरीरमा अनौठो रोग पत्ता लगायो रे। हरे पत्याछ्यौ तिमी? सबैको शरीरमा रक्त बगेको हुन्छ रे। तर मेरो शरीरमा विरक्त बगेको भेट्यो रे उसले। ऊ मेरो विरक्त थप परीक्षणका लागि अन्त कतै पठाउदै छ। भर्सेलो परोस्।

म अहिले ठ्याक्कै सिंहदरबार अगाडि हिँडिरहेकी छु। म जान्दछु तिमी अहिले रेडियो नेपालमा समाचार सुनिरहेकी हुँदी हौ। आस नगर। म सिंहदरबार अगाडि हिँडेको समाचार रेडियो नेपालले भन्दैन।

मैले मेरा सबै इच्छाहरू मारिदिएकी छु। तर पनि मभित्र ठुल्ठूला असन्तुष्टिहरू जिउदै रहेछन्। र तिनले मलाई कैलेकाही कैलेकाही गरेर किस्ताबन्दीमा सताउछन्।

असलमा ममा बाँच्ने जाँगर घटेको छ। चिन्ता नगर, मर्नु त एक दिन छँदै छ। म मरे भने तिम्रो ठूलो र गहिरो मुटुमा सबै दिक्दारीहरू छोपेर राख।

‘तँसँग अलिक दिन बस्न मन लागेको छ।’ म टिकालाई यस्तै केही भनिदिन्छु।

नगरकोटी पेगका पेग धुवा उडाएको कुरा गर्छ। म लोभिन्छु। एकदिन टिका र म पनि इन्द्रावती किनारमा बसेर नगरकोटीको शैली सिको गर्दै धुवा उडाइदिन्छौ। हामीलाई थाहा छैन ऊ कुन बिडी सल्काउछ ? हामी जुन सस्तो पर्छ त्यतैतिर लाग्छौँ। आखिर धुँवा त धुँवै हो।

हामीले दुई ठुल्ठूला ढङ्गाको टाउकोमा अड्डा जमाउछौँ। इन्द्रावती कर्कस आवाजमा एकैपटक मिलन र बिछोडका गीत गाइरहन्छ। उसको बाउको आउदो न जादो। इन्द्रावतीमा आँखा गाड्दै टिका मलाई सम्झाउछे, ‘इन्द्रावती युगौदेखि ढुक्कै बगिदिएको छ। यस्लाई कोसँग गुनासो छ र ! हेर् मान्छेले पनि इन्द्रावती बन्न जान्नु पर्छ बुझिस् !’ मलाई रिस उठिहाल्छ। म निधार खुम्च्याउदै चड्किन्छु,  ‘जिन्दगीमा अरु सबै कुरा गर् तर नाथे अर्तिउपदेश दिने काम नगर्। मसँग जडाउरी उपदेश खोक्ने मान्छे सहन सक्ने हुति छैन।’

उसले मलाई हिजो पनि केही भनेकी हुनुपर्छ, ‘गुनासा सुनाउने कुरा होइनन् क्या। सहने कुरा हुन्। तेरा गुनासा सुन्ने फुर्सद कस्लाई !’

म टिकालाई पनि वाक्क बनाइदिनसक्छु। दिक्क पारिदिनसक्छु। तर उसले मसँग जुध्ने साहस गरेकी छे। र ऊ भन्छे, ‘तँ कुनै दिन स्वस्थ हुन सक्छेस् । होइन, तँ वास्तवमै स्वस्थ छेस् !’

मलाई चउरमा गइरहन मन लाग्छ। चउरमा फूलेका असारे बोट छन्। यतिखेर सिरुका फूल हावासँगसँगै यताउता उतायता हल्लिरहेका छन्। म ठ्याक्कै अनुभव गर्न सक्छु आमा, मलाई पनि समयले यताउता उतायता हल्लाइरहेको रहेछ। तर सिरुले फुल्ने तागत देखाएको छ। म फुल्न सकुँला जस्तो छैन। भयो आमा, मेरो स्थिति देखेर सुस्केरा नहाल।

टिका आउछु भन्थी। यतिबेलासम्म आइन। ‘झमझम पानी परिरहेको छ। म यही चउरमा उसैगरि पर्खिरहेकी छु। टिका त बहाना मात्र हो। वास्तवमा म मृत्यु पर्खिन्छु।

कहिले काही मनका सबै कुरा भन्ने रहर हुन्छ। जस्तो कि, दिक्दार लाग्ने कुरा। बिसौँ ठाउँमा परिचय छोड्दा पनि जागिर नमिलेको कुरा। जागिर नभएकै कारण प्रेमी जागिरवाला आइमाईसँग नजिकिएको कुरा। खल्तिमा पैसा नभएर बेलैमा खाजा खान नपाएको कुरा। हात गोडा गलेर जहि तहि लम्पसार पल्टिन मन लाग्ने कुरा र पटकपटक आत्महत्याका योजना बनाउने कुरा। जब म केही भन्न खोज्छु टिका भनिहाल्छे, ‘गुनासा सुनाउने कुरा होइनन् क्या। सहने कुरा हुन्।’

पैसा जाबो त वेश्या भएर पनि कमाउन सकिने रहेछ। हिजै मात्र पनि एउटी दलाली भेटेकी थिएँ। ‘एक रातको हजारदेखि दुईहजार सम्म कमाउन सकिन्छ।’ उसले लोभ देखाउन खोजी। उसले मलाई तलदेखि माथिसम्म र माथिदेखि तलसम्म हेरी र यसो पनि भनी, ‘तैँले बढी कमाउन सक्छेस्।’ मैले स्पष्ट भनिदिएँ, ‘पैसाका लागि देह बेच्ने गरेकी छैन।’

तिमीलाई मैले भनिसकेँ नि होइन त, मेरो प्रेमीलाई कसरी धनी आइमाईले किनी। हो आमा, उसले पैसाकै लागि आत्मा र देह बेच्यो। तर अब मसँग गुनासा बाँकी छैनन। तिमीलाई थाहा छदै छ, मेरा अगुनासाहरू गुनासा बनेर अस्तित्वमा आउन प्राय खोज्दैनन्।

आजभोलि मेरो दैनिकी फेरिएको छ। म बुद्धलाई प्रेम गर्न थालेकी छु। कहिलेकाही म बुद्धलाई बिर्सिन पिउछु। अनि फेरि कहिलेकाही उसैलाई सम्झिन पिउछु। जे होस् आजभोलि म बेहिसाब पिउछु।

यसपटक पनि दनुहारले बेलैमा गोरु ल्याइदिएन होला। मैले त्यस्तै अनुमान लगाएकी छु। पोहोर जस्तै यसपटक पनि उसले एक बोलीमा गोरु ल्याइदेन होला र तिमीलाई दिक्दार बनायो होला हइ! तिमी खुइय सुस्केरा हाल्दै बाहिरभित्र भित्रबाहिर भयौ होला। र पारितिर खुब हेर्‍यौ होला।

अहिले तिमी छिमेकीका बारीमा मकै उम्रेको हेरिरहदी हौ। र भेटेजति सबैलाई दिक्दार लाग्ने गरी भन्दि हौ, ‘अस्ति ल्याइदिन्छु भन्या ल्याइदेन। हिजो निधै भयो भन्थ्यो। मल छरेँ। आज चाडै ल्याइदिएर जोतिदिन्छु भन्थ्यो। पैसा पनि बेलैमा दिएर निधो गर्‍याथ्यो। मल छरेर बारी ङिच्च पार्‍या छ। सब्बै का सकेपछि काँ चै लैजाला त!’ हरे आमा तिम्रो आससँग म गल्छु। र आफैलाई धिकार्छु, आमाकी छोरी म किन येस्ती।

म आज जति पनि पिउन सक्ने भइसकेकी छु। ओहो ! मैले यस्तो लेख्नु हुँदैनथ्यो। तिम्रो चित्त दुख्यो होला। भैगो अब चित्त नदुखाऊ। र भक्कानिएर पनि नरोऊ। मैले सबै कुरा बिर्सिदिएकी छु। मानमर्यादा र नीतिनियम त दिमागी चलखेल न रहेछन् आखिर। होचालाई मात्र लाग्ने ।

निद्रा लाग्छ। निद्रा लाग्दैन। भोक लाग्छ। भोक लाग्दैन। थकाइ लाग्छ। थकाइ लाग्दैन। अहिले मलाई यस्तै केहि हुन्छ अरु केही हुँदैन। मेरो चाल देखेर तिमी दिक्दार नबन। वास्तवमा म म भएर बाँच्नु छ।

सधैझै हिजो पनि मेरो हृदय डाहाले भरिएको थियो। मन भतभति पोलेको थियो। टाउको गह्रौ भएको थियो। कपाल दुखेको थियो। निधारको नसा टन्किएको थियो। हिजो बेलुका टाउको दुखेकैले चाडै सुतेँ। अहिले उठ्दा पनि टाउको दुखेकै छ। दुखाइ बरु बढेको छ घटेको छैन। सायद यसपटक म मर्छु होला।

म रिपोर्ट लिन बोलाइएकी छु। विरक्तको रिपोर्ट,

आमा अहिले म मानसिक अस्पताल भर्ना गरिएकी छु। मैले प्रेमीलाई पठाएका हाते पत्रहरू मेरो मानसिक विचलनका प्रमाण हुन् रे। उसले अति गोप्य प्रेम पत्रहरू समेत सार्वजनिक गरेछ। हो, मैले थुप्रै हाते पत्रहरू पठाएकी छु। हो, म उसको अगाडि दिक्दार लाग्ने गरि रोएकी पनि छु। किनभने मैले उसलाई प्रेम गर्ने गरेकी छु। आमा, मैले जम्मामा उसलाई प्रेम गर्ने गरेकी छु। तर तिमी मलाई बहुलाही भन्छ्यौ त ?

यसपटक पनि म मकै छर्न आइन।

बिहानीको सपनामा मैले बुद्ध देखेँ। ऊ पनि मलाई प्रेम गर्छ रे।

मैले जवाफमा भनेँ, ‘म यसोधरा बनेर राहुल जन्माउन सक्तिन।’

जवाफमा बुद्धले भन्यो, ‘तँ तँ भएर एउटा अर्को सिद्धार्थ जन्मा।’

‘तर देशलाई त बुद्धको खाँचो छ। सिद्धार्थ त हर्मन हेस्सेले पनि जन्माएको थियो।’

‘पश्चिमाहरू सिद्धार्थ जन्माउछन्। सिद्धार्थ हुर्काउछन्। उनीहरू स्पिरिचुअल कम र ज्यादा मटेरियालिस्टिक छन्। उनीहरूसँग सिद्धार्थ जन्माएर बुद्ध हुर्काउन सक्ने कलाको कमी छ। यस्तो कला पूर्वेलीसँग हुन्छ । स्पिरिचुअल लगाव!

तिमी जान्दिनौ त ? म सन्तानको निधारमा कसरी मृत्यु देख्थेँ र अति घृणा गर्थे। यो हिजोको कुरो थियो। आज माहोल अर्कै छ। अहिले म गर्भाधानका लागि योग्य छु। म अब शिशु सिद्धार्थ जन्माएर बुद्ध हुर्काउछु ! स्पिरिचुअल लगाव !

 

कोठा नम्बर ५२६

मैले आफूलाई कतिसम्म विचलित हुन सक्दो रहेछु भनेर परीक्षण गर्न खोजेको जस्तै भइदियो। म हाते खबर हतारमा लेख्छु, “प्रिय म यो हृदय कसरी बुझाऊँ। तिम्रो घाउ जति नै दुखेको छु। नत्र बरोबर आँसु किन आउथ्यो होला र! फरक यति हो म बेसहारा भएँ।”

प्राय आफूले दोहोर्‍याइ तेहेर्‍याइ र दसर्‍याइ गरेका काम अति लाग्दैनन्। अति भएछ क्यार काकीले (म प्रेमीकी आमालाई काकी भनिदिन्छु) सम्झाइन, “बिरामीको अगाडि यस्तो गरिदिएपछि बिरामीको हाल के हुन्छ?”

म सधै त बुझ्ने आइमाई! यसरी मेरो बुझ्ने माथि ‘अ’ थपिन पुग्छ र म अबुझ्ने बन्छु। अनि मेरो जिन्दगी नै अजिन्दगी बनिदिन्छ।

यही तोडमा म जन्मगाउँ पुग्छु।

हुन पनि त पानी नपरेको ठ्याम्‍मै दुई महिना भइसकेको थियो। गएका वर्षमा हुँदो हो यतिन्जेल धेरै झर पानी परिसकेको हुनेथियो। यस काल मौसम पनि पर्‍याप्त भइदिएको छ मेरो हृदय सुकाउन। म जम्मामा हाड पुगेकी हुन्छु आमाका अघि।

मस्तिष्कमा ज्वरो आउछ। म सन्तुलन गुमाइदिन्छु। झुक्‍कल भेटिने नातेदार सोध्छन्, ‘दुब्लाइछस्?’

‘हुनसक्छ!’

‘बिरामी भइस्?’

‘होइन गर्मी लागेको।’ म फेरि पनि ढाटीदिन्छु।

छिमेकी काकी नियाल्छिन्, ‘आज किन गलेकी छेस् ?’

म हाँसिदिन्छु।

‘बिरामी भइस्?’

‘छैन गर्मी लागेको!’ म फेरि ढाँटिदिन्छु।

आँखामा झट्ट बि. एन्ड बि. अस्पतालको ५२६ नम्बर कोठो आउछ। पाचौँ तलाको बेडनम्बर दुईमा मेरो प्रेमी लडिरहेको हुन्छ। अनि फेरि भकमिलेमा मूल फुटे जसरी आँखा रसाउछन्।

मेरो प्रेमी दुर्घटनामा परेर अस्पताल भर्ना भएको सत्य हो ।

उसको दाहिने खुट्टाका औला थङथिलिएका छन्। म खुसुक्‍क उसको खुट्टोमा हेर्छु। नङहरू सखापैसँग थिल्थिलिए हुन्छन्। रगत बाँकी छैन तर छाला छेडेर मासु निस्किएको छ। हरे म यस्तो हेर्न पटक्‍कै सक्दिन। म हृदय रुन्छु।

म फर्किने बेलामा ऊ भन्छ, ‘भोलि आउदा किताब ल्याइदेऊ!’

‘कुन?’

‘संजीव उप्रेतीको सिद्धान्तका कुरा!’

ऊ जीवन शैयामा सुतिरहेको हुन्छ जब ‘म सिद्धान्तका कुरा’ र ‘बेलाइततिर बरालिदा’ लिएर पुगेको हुन्छु। उसका आँखा लठ्ठिएका हुन्छन्। जम्मामा ऊ आफै लठ्ठिएको हुन्छ। र ऊ भन्छ ‘मलाई निद्रा लागेको छ।’ ऊ भसक्‍क निदाउन खोज्छ।

किन हो कुन्‍नी ऊ फेरि लठ्ठिएका आँखा उघारेर मलाई होइन उसकी बहिनीलाई हेर्छ। जो उसको खुट्टापट्टि बसेकी हुन्छे। म उसको जीवनका लागि उती महत्त्वपूर्ण सदस्य नहुन पनि सक्छु। मसँग त्यतिका गुणहरू नहोलान् जति उसका लागि आवश्यक पर्लान् ।

म फेरि हतारमा ५२६ नम्बर कोठामा पुग्छु। मानौ मेरो जीन्दगी त्यही छ। जसै म भित्र पस्छु, दिमागमा झड्का लाग्छ, ऊ त्यही छ जसरी हिजो अस्ति हुन्थ्यो। तर उसको ओछ्यानमा एउटी मोटी छन्द नपरेकी आइमाई पनि बसेकी हुन्छे। काकी छेउको मेचमा हुन्छिन्। यसपटक उसकी बहिनीलाई म त्यहाँ देख्दिन।

बल्लतल्ल चलेका ओठ। सिनित्त पारेर खौरिएको दाह्री। हतारमा बस्दै उठ्दै गरेको कन्चट। हतारमै चलेको छाती। म हलचल नगरी उसलाई हेरिरहन्छु। यसपटक ऊ बेपत्तासँग दुब्लाएको हुन्छ। ऊ मासु निख्रिएर हाड हाड भएको छ। जम्मामा ऊ हाडै हो भने पनि हुन्छ। उसलाई अहिले डिलिरिअम पनि भएको छ रे।

यस बिचमा उसलाई ड्रेसिङका लागि लगिन्छ । म पर्खिरहन्छु ।

ड्रेसिङ पछि उसलाई फेरि ५२६ मै ल्याइयो। अहिले तीन बजेको हुदो हो र उसलाई पाँचबजेसम्म खुवाउन नहुने कुरो बताइएको थियो। मैले सोधेर होइन कुराकानीबाट थाहा पाएँ, उसले बिहान छ बज्नु अघि केही खाएको थियो। उसका लठ्ठिएका आँखा आधी खुलेका थिए। ऊ बर्बरायो। के भन्यो? मैले सुनिन र सुन्‍न पनि चाहिन (अब मलाई थप गतिलो हुनुको आवश्यकता थिएन)। काकीले उसको ओठमा कानको प्वाल राखिन्। उसले ओठ चलायो।

‘के भनेको बाबा मैले सुनेकै छैन?’ प्रतिक्रियामा काकीले भनिन्।

उसले जतिपटक ओठ चलायो काकीले पनि त्यति नै पटक कानको प्वाल उसका ओठमा लगिरहिन्। सायद यो पाचौँ पटक थियो होला ‘मलाई भोक लागेको छ!’ उसले सासले यतिसम्म भन्यो। काकीले सकेसम्म मस्याइलो आवाजमा भनिन्, ‘अहिले होइन बाबा। एकछिन पछि मात्र।’

ऊ फेरि आँखा आधा उघारेर निदायो।

करिब साढे एक घन्टा पछि ऊ अलि स्वस्थ भयो शारीरिक होइन। तर उसले मलाई एकपटक पनि हेरेन । सोचेँ मेरो यहा आउनुको अर्थ छैन। वास्तवमा म अर्थ हिन नै थिए म आफैको लागि पनि। अर्थयुक्त हुँदो हु आजसम्म मैले धेरै गरिसकेको हुने थिए। कम्तिमा म सफल प्रेमिका भइसकेको हुने थिए। अझ साँच्चै भन्‍ने हो भने आमा भइसकेको हुने थिए।

म कुराकानी अघि बढाउन पटक्क जान्दिन र बल्लतल्ल एक घन्टा लामो रिहर्सलपछि सोध्छु, ‘अहिले काकीको घरमा के काम छ?’ उनी मेच अलि नजिक सार्छिन् र बिस्तारै भन्छिन्, ‘धान काटेर रोपाइ गर्न बितिछ।’

मेरो प्रेमी हस्पिटलाइज भएपछि काकी हतारै हतारमा बस चढेकी थिइन्। उनी सात घन्टा लामो बाटोको बस चढेर बि.एन्ड बि. आइपुगेकी थिइन्। र आफ्नो छोरोलाई कस्सेर अंगालो हाल्दै भक्‍कानिएकी थिइन्। त्यसपछि उनी फेरि रोएकी थिइनन्। बरु उनले आफ्नो प्रिय छोरोलाई मुटुको टुक्रो सम्बोधन गर्दै ढाडस दिएकी थिइन्, ‘यति घाउ राम्ररी निको भएपछि सबै कुरा ठीकठाक हुन्छ।’

सबै आमाले आफ्ना सन्तानलाई मुटुको टुक्रो भन्दा रहेछन्। जसरी मलाई मेरी आमा भन्छिन्। जुन मलाई नौलो पटक्‍कै लाग्दैन।

मेरो प्रेमी बेलाबेला छटपटिन्छ नत्र निस्पट्ट सुतिदिन्छ। र हरेक बिउझाइमा जीवन देख्छ। जम्मामा ऊ निक्‍कै आशावादी छ। सधै जीवन जित्‍ने कुरा सोच्दा सोच्दै हार्ने कुरा सोच्न उसले भ्याएन रे। जब कि मैले हार्ने कुरा सोच्दा सोच्दै जीवन जित्‍ने कुरो सोच्ने सपनासम्म पनि देखिन। यो हामी बीचको अर्को खाडल थियो। यस्तै थुप्रै खाल्डा खुल्डी थिए हामी बीच! तर वास्तविकताको पोको नफुकाएकै जाती।

ऊ हाडमा रुपान्तरित भएको छ। ऊ हरेक कोल्टे फेराइमा एक घुडा र अर्को घुडाबीच सिरानीको खोल राख्छ। जुन पट्याएर घुँडानी बनाइएको हुन्छ। एक घुँडाको हाडले अर्को घुँडाको हाड थिचेर सास्ती दिदो होला सायद! म यस्तै अनुमान लगाउछु। यो देखेर फेरि मेरो हृदयमा अर्को पटक पनि घाउ लाग्छ। यस्ता घाउहरू कैयौ लागीसके यी दिनहरू बीचमा। कहिलेकाही हृदयमा लागेका घाउले बढी सताउदा रहेछन्। अनि मानसिक सन्तुलन तलमाथि हुने रहेछ।

उसका हत्केलाहरू पनि पँहेलिएका हुन्छन्। ती हत्केलाहरू जहाँ हिजोअस्ति रगत बगेको हुन्थ्यो र ती गुलाफी फूल जस्तै गुलाफी हुन्थे।

जीवन नचाहदा नचाहदै कठिन बन्दो रहेछ। अप्ठ्यारो जीवन कसले पो चाहेको हुन्छ र!

अहिले मलाई प्रत्येक पहिलो सेकेन्ड अन्तिम सेकेन्ड बनिदियोस् जस्तो लाग्छ। प्रत्येक पहिलो मिनेट अन्तिम बनोस्। प्रत्येक पहिलो घन्टा अन्तिम घन्टा बनोस्। प्रत्येक पहिलो दिन अन्तिम दिन बन्‍न जाओस्। प्रत्येक पहिलो महिना अन्तिम महिना बन्‍न जाओस्। र प्रत्येक पहिलो वर्ष अन्तिम वर्ष बनोस्। मस्तिष्क भरि यस्तै इच्छा भरिएका छन्। मलाई अरु कुरा सोच्ने फुर्सद कहाँ छ र!

“अहिले कस्तो छौ?”

प्रतिक्रियामा “गुड बाइ फरएभर” पाउछु।

केही दिनमा त्यही आइमाई जो म कुनै दिन जादा मेरो प्रेमीको खुट्‍टा पट्टि बसेकी थिई। ऊ खाइलाग्दो शरीर भएकी छन्द नपरेकी आइमाई थिई। हो उसैले फोन गरी। र उसले आफूलाई बिरामीको प्रेमिका बताई। अनि मेरो प्रेमी दुर्घट्नामा पर्दा आफू कति रोए भनेर पनि सुनाई। तर चिन्ता नगर मैले पछिल्लोपटक देख्दा पनि ऊ अझै उति नै मोटी र भद्दा थिई, जति मैले पहिलोपटक देखेको थिएँ।

यसरी मेरा सपनाहरू असपना बनिदिन्छन्।

सत्य म व्यवहारिक थिइन। र प्रेम मेरो लागि थिएन। गरिबले प्रेम नगरेकै जाती।

अहिले ऊ स्वस्थ भइसकेको हुनुपर्छ। तर हामी एक अर्काका लागि मरिसकेका छौँ। म उसलाई कहिले काहिँ रुखा पत्रहरू पठाउछु। जसको जवाफ कहिल्यै आउदैन।

 

हिर्की एक पाठक

हिर्की सनकी छे।

होइन, ऊ आजभोली बिरामी छ।

ऊ सधै बिरामी देखिन्छे।

‘तपाईँ ठीक हुनुहुन्छ।’ डाक्टर।

‘…………………………………!’ हिर्की

‘तपाईँ ठीक हुनुहुन्छ।’ डाक्टर।

‘मलाई निद्रा लाग्दैन!’ हिर्की।

‘इन्सोम्निया समस्या होइन।’ डाक्टर।

‘मलाई विगतको घोस्टले पिर्छ।’ हिर्की

‘…………………………..!’ डाक्टर।

कोठामा फर्किएर हिर्कीले पहिला प्रवेशपत्र हाली। त्यसपछि पानी अनि जे जे झोलामा अटायो । र हातेफोन पनि।

हिर्की शंकरदेवको पुस्तकालयमा पसी। र, टेबुलमा सकेसम्म बेस्सरी झोला थचारी। पुस्तकालयमा पढिरहेकाहरूले टाउको उठाएर आँखा ऊमाथि खन्याए।

उसले समयमै हातेफोन मारी। आफू चार घन्टे परीक्षा धमाधम लेखिरहेकी छु भन्‍ने विश्‍वास उसले जसरी पनि गराउनु थियो। विशेष गरेर बाबुलाई। त्यसपछि एक घुट्को पानी निली। झोलाबाट पुस्तक झिकी। अनि पढ्न थाली।

पुस्तकालयमा विद्यार्थी घट्ने बढ्ने प्रक्रियासँग हिर्की बेखबर!

चार बज्ने बित्तिकै उसले हातेफोनमा जीवन भरी। पढिरहेको पुस्तक झोलामा हाली। एक घुट्को पानीले घाटी भिजाई।

हिर्की हतारमा सडकमा निस्की र सूर्य सल्काई।

ऊ हतारिएर बसपार्क भित्र पसी। अनि किर्तिपूर जान लाम लागेका मान्छेहरूकै भिडमा सामेल भई।

चारवटा माइक्रो आए। पाँचवटा र छवटा पनि!

कोचाकोच। ठेलमठेल। तछाडमछाड। घचेटा घचेट। हिर्की एउटैमा पनि चढ्न सकिन। हेर्दाहेर्दै उसका आँखा विरक्तिए। हुलमा चेपिएर मन अमिल्लियो। तर उसलाई जसरी पनि किर्तिपूर पुग्नु नै थियो।

किर्तिपूरको एक गल्लीमा साँघुरो, अँध्यारो कोठो उसलाई पर्खिरहेको थियो। सहरमा उसलाई पर्खिने कोही थियो त त्यही एउटा कोठो थियो । उसले खाए नखाएको हेर्ने हिर्कीको प्यारो कोठो।

किर्तिपूर जान हतारिएका मान्छेहरू थपिइरहेका थिए। घटेका थिएनन्।

‘आज किन सबै मान्छेहरू किर्तिपुर जान खोजिरहेका छन्?’ भुनभुनाएर हिर्की खिस्स हाँसी। आफैसँग ।

हिर्की सातौँ माइक्रोमा पसेरै छोडी। सीटमा शरीर फ्याँकेर लामो सास तानी। एकैछिनमा माइक्रो भित्र ठेलमठेल मान्छे भरिए।

जब उकुसमुकुसिएको माइक्रोले गुम्सिएको बसपार्क छोड्यो तब माइक्रो दुखसुख पोख्‍ने भाँडोमा परिणत भयो।

‘एउटा युद्ध जितियो?’

‘यतिमै युद्ध कहाँ जितिन्छ!’

‘एउटा युद्ध!’

‘सिङ्गै जीवन एउटा युद्ध हो, त्यसैले एउटा युद्ध जित्‍न एउटा जीवन जित्‍नुपर्छ।’

‘युद्धका लागि गरिएको युद्ध र विकासका लागि गरिएको युद्ध दुई फरक युद्ध हुन्। पहिलो खालको युद्ध टुङ्गिने सम्भावना हुँदैन। तर दोस्रो खालको युद्ध टुङ्गिनै पर्छ। पछिल्लो समयमा चीन र रुसमा विकासका लागि युद्ध गरिएको थियो। अफ्गानस्तान, सोमालिया र सिरियामा भइरहेको युद्ध युद्धकालागि गरिएको युद्धको उदाहरण हो। यस्ता युद्धमा जनताको सपना टुक्रिन्छ। उनीहरू केही पाउछन् त मात्र सास्ती। आइमाई बलात्कृत हुन्छन्। केटाकेटीमा कुपोषण सल्किन्छ।’ एउटा आलोकाचो ठिटोले अपरिपक्‍व दर्शन छाँट्यो ।

‘विकासका लागि गरिएको युद्धमा पनि आइमाई बलात्कृत हुन्छन्।’

‘कृपया बलात्कार शब्द विश्‍वकोशबाट हटाइदिनुस्।’

‘युद्धलाई विभाजन गर्ने भाइको नाम के हो?’

‘सुभास।’

‘सुभास!’ हिर्कीको छाती ढक्क फुल्यो। उसले गहिरो लामो सास तानी। ऊ माइक्रो चढ्ने बित्तिकैको दाहिने सीटमा बसेकी थिई। उसले पछाडि भएका कुराकानी सुने पनि कुराकानी गर्ने मान्छे देखेकी थिइन।

‘घर कहाँ हो?’

‘अर्घाखाँची। म मास्टर पढ्न आको।’

‘अहिलेका युवा सचेत छन्। तर यिनीहरूलाई अवसरको खाँचो छ।’

‘अवसर बाजा बजाएर आउदैन। होइन त भाइ? अ… म के कुरा गर्न खोजिरहेको थिएँ भने, भर्खरै दसवर्षे जनयुद्ध टुङ्‍गियो।’

‘उनीहरू फेरि पनि युद्धकै कुरा गरिरहेका छन्।’

‘अर्थात दसवर्षे युद्ध विकासका लागि गरिएको थिएन। भाइको आसय यही हो?’

‘छोडिदिनोस्। यी नटुङ्गिने कुरा! फेरि हामीले कुरामात्रै गर्नुको के अर्थ?’

हिर्कीलाई झर्को लाग्नु पहिल्यै अर्थहिन कुराकानी टुङ्गियो। अझै लम्बिएको भए ऊ अवश्य चिच्याउने थिई।

उल्टो सिटमा बसेका दुई केटा र दुई केटीले हिर्कीलाई पालाकपिलिक हेरे अनि एकअर्कासँग हाँसे। हिर्कीलाई हेर्दै हाँस्ने प्रक्रिया निक्‍कैबेरसम्म तन्कियो। लगभग अन्तिमसम्मै।

माइक्रोबाट ओर्ली र हिर्की हतारिएर बाघभेैरबतिर लागी । बाघभैरबकै छेउमा छ उसको अँध्यारो कोठो !

ठीक त्यहीबेलामा पछाडिपट्टिबाट उसलाई कसैले बोलायो। उसले सातौँ सिढीमा टक्क रोकिएर पछाडि फर्केर हेरी।

‘हिर्की, तिमीले परीक्षा दिइनौ?’ सुभास हडबडिएको थियो।

‘तिम्रो चासोको विषय होइन।’ हिर्की सकेसम्म छिटो छिटो सिँढी चढिरहेकी थिई।

सुभास ऊसँगसँगै हिँड्ने कोसिस गरिरहेको थियो। ‘सुन हिर्की! तिमीले त्यसदिन मसँग मृत्यु मागिरहेकी थियौ! तिमी विश्‍वास गर्छ्यौ?’

‘मृत्यु? सुभास?’

‘त्यसदिन तिमीले सोधेकी थियौ, “के तिमी मृत्यु जत्तिकै कठोर र सजिलो छौ?” मसँग अझै पनि ती वाक्यहरू सुरक्षित छन्।’ सुभासले हिर्कीको आँखामा हेर्दै विश्‍वास दिलायो।

‘मसँग पनि सुरक्षित छन्। दुईवर्ष अघी पठाइएका तिम्रा ई-मेल। तर अब समय बोल्दैन। सुभास, म दुख्‍न छोडिसकेँ, तिमी फर्किन सक्छौ। यदि तिमी अझै बेर बस्छौ भने तिम्रो समय व्यर्थ हुनेछ।‘ हिर्की ओठको एक कुनो बङ्ग्याएर हाँस्न खोजी। अनि फेरि फुसफुसाई, ‘हो तिमीले ठीक भन्यौ! तिमी मेरो प्रेमलाई मृत्युसँग दाँज्छौ भने मेरो भन्नु केही छैन । मृत्युले स्पष्ट लेनदेन गर्छ। सुभास, बुझी राख; मायाको किचलो लेनदेन भन्दा मृत्यु धेरै गुना निष्पक्ष छ ।’

‘हिर्की, अरूलाई त ढाँट्न सकिन्छ तर आफूलाई नि?’

‘सुभास, मैले अगाडिको युद्धका लागि आफूलाई तयार गरिसकेकी छु। मलाई एक्लै छोडिदेऊ।’

हिर्कीको अनुहारमा उदास मडारिएको थियो। कोठो अगाडि पुगेर उसले सुभासतिर हेर्दै भनी, ‘मेरो कोठो बाँच्न मात्र पर्याप्त छ। तिमी यहाँ जीवन भेट्न सक्दैनौ। शुभ यात्रा!’

हिर्की भित्र पसी। ढुसी उकुसमुकुसिएर उसको नाकभित्र ह्वास्सै पस्यो।

सुरुवालको इजार बाहिरै तुरुङ्ग झुन्डिरहेका थिए। घुँडैसम्म लत्रिएका । हिर्कीले कोठामा पुगेपछिमात्र थाहा पाई। उसले सम्झिने कोसिस गरी, कतिबेलादेखि त्यस्तो भयो?

चार जोडी आँखाले खेदेको माइक्रोको दृश्य उसका एक जोडी आँखामा फनफनी घुमे।

आफू यतिसम्म बेवास्ते र बेसुद्धीकी बनुँला भनेर हिर्कीले सोचेकीसम्म पनि थिइन।

दुई चार दिन भइसकेको थियो, ऊ टुक्रिएकी थिई। अनि प्रत्येक दिनका असजिला परिणामले थप विचलित हुनलाई मलजल गरिरहेका थिए। त्यहि कारण पर्याप्त भयो, हिर्की आज फेरि टुक्राटुक्रा भई।

दिनभरी दुखेको टाउको समाएर उसले आँखा चिम्ली। उसले कसै गरे पनि आफूलाई सम्हाल्न सकिन, ‘म अझैसम्म बहुलाएकी छैन!’

हातेफोन बज्यो।

एकपटक।

दुईपटक।

तीनपटक। लगातार।

हिर्की भूईमा बसेकी थिई। उसका दुई हत्केलाले भुई टेकेका थिए। अनि टाउको खाटमा अडिएको थियो। उसका आँखा सिलिङतिर टाँस्सिए।

हातेफोन बज्न छोड्यो। हिर्की दुख्‍न छोडिन। उसले हलचल नगरी सिलिङतिर हेरिरही।

बेलुका नौ बजेको थियो। हातेफोन फेरि बज्यो। एकपटक। दुईपटक। तीनपटक बज्दा हिर्कीले प्रतिक्रिया दिई, ‘बा?’

‘किन फोन नउठाएको?’

‘अघिन माइक्रोमा थिएँ। अहिले नुहाउन गएको थिएँ।’

‘परीक्षा कस्तो भयो?’

‘ठीकै।’

हिर्कीको ठीकै भन्‍ने उत्तर बालाई बानी परेको थियो। हिर्कीले ठीकै भन्‍नुको अर्थ औसत भन्‍ने हुन्थ्यो र उसका बाले त्यही बुझेका थिए। त्यसैले उनले आजको परीक्षामा थप सोधेनन्।

‘अब कहिले छ?’

‘सोह्र गते?’ ‘के को?’ ‘व्याकरण।’ ‘ल हुन्छ!’

हिर्कीले भात खानु र नखानुमा खास फरक देखिन। आज उसले ग्याँस सल्काइन। सट्टामा पटकपटक सूर्य सल्काई । अनि कोठाको वल्लो छेउ पल्लो छेउ ओहोर दोहोर गरीरही।

‘रस्कोलनिकोभ पात्र। म जीवन।’ हिर्की आफैभित्र हराई, ‘इन्सोम्निया समस्या होइन। तिमी मेरो साथीमात्र हौ! के उसले बिर्सियो दुईवर्ष अघि ऊ आफैले प्रस्ताव गरेको सत्य?’

एक बजिसकेको थियो। हिर्कीका आँखा एकनास हेरिरहेका थिए अनि मन एक तमासले हिँडिरहेको। उसले जुरुक्‍क उठेर बत्ती बाली। एक घुट्को पानी पिई। सिरानमुनीबाट लाइटर झिकेर सूर्य सल्काई। अनि थोत्रिसकेको डायरी पल्टाई,

‘Dear RASKOLNIKOV,

तिमी जस्तै म पनि सपना फुलाउन सहर भित्रिएकी! तिमी कानुनको विद्यार्थी। म व्याकरणको। तिमी र म बीचको फरक यति नै हो। तिमीलाई थाहा छ नि आइमाईका लागि सहर कति असुरक्षित हुन्छ भन्‍ने कुरा! मैले अभद्र समय कति गुजारिसकेँ? त्यसको गन्ती साध्य छैन। आइमाईका लागि यो सहरमा केही छ भने सेकेन्ड सेकेन्डमा असुरक्षा मात्र छ। तर पक्‍का हो, म दुख्‍न छोडिसकेँ।

घरीघरी मेरा बाबु म प्राध्यापक भएको सपना देख्छन् रे। उनी आफ्नो मास्टरी पेसाबाट अलिकति बचाएर मलाई पैसा पठाउछन्। प्राथमिक अस्थाइ शिक्षक।

सरकारले सरकारी कर्मचारीको तलब बढाए पनि मेरा बाबुको तलब कहिल्यै बढ्दैन। उनी मास्टरी पेसाको तीसौँ वर्षमा हिँडिरहेका छन्। सबै बाध्यता हो।

अहिले उनी खोरियाबारी बेचेर बजार पसेका छन्। यहीबाट विद्यालय धाउछन्। सानो अँध्यारो कोठोमा उनीसँग मेरी आमा पनि बस्छिन्। उनीहरूको एउटा सानो रेडियो छ। बा सधैजसो बिबिसी सुन्छन्। रेडियो कानमै लागेर। उनी कपटी छन्। ठूलो स्वर मन पराउदैनन्।

मेरी आमालाई दोहोरी गीत खुब मनपर्छ।

तिम्री आमालाई तिमीले विश्‍वविद्यालय छोडिदिएको यथार्थ थाहा छ। मैले पनि विश्‍वविद्यालय छोडिदिएँ। तर मेरा बाबुआमा बेखबर छन्।

म विश्‍वविद्यालय आउनु एउटा संयोग मात्र हो। एकदिन बाबुले जाँडकै सुरमा एकाएक घोषणा गरे, “अब म छोरीलाई विश्‍वविद्यालय पठाउछु। अनि प्राध्यापक बनाउछु।”

म सहर पस्ने दिनमा घर छोड्ने तरखर गर्दै थिएँ। बाबु निर्धक्‍क बोले, “आमाबाबु भन्‍दैमा सम्झिनै पर्छ भन्‍ने जरुरी छैन।” त्यसैले अब म स्वतन्त्र थिएँ, उनीहरूलाई माया गर्न र घृणा गर्न। अनि केही नगर्न पनि!’

हिर्कीले पात्रलाई चिठी लेखेर बेबकुफ बन्‍ने विचार त्यागी। उसले फेरि दुई ओठले सूर्य च्यापेर सल्काई।

हिर्की – ‘मलाई निद्रा लाग्दैन।’

डाक्टर – ‘इन्सोम्निया समस्या होइन। मनमा कुरा नखेलाउनुस्।’

हिर्की – ‘मलाई विगतको घोस्टले सताउछ।’

‘अनआइडेन्टिफाइड डिजिज!’ डाक्टर मसिनो गरी भुनभुनाउछ।

सिमित हाँसो। सिमित शब्द! सिमित लवाई! सिमित खवाई! एउटै पनि साथी नहुनु! पर्याप्त पैसा नहुनु! हिर्कीले सबै परिस्थितीहरूलाई बानी पारिदिएकी थिई।

उसले एकदिन सुनी, ‘हिर्की सधैँ दुखी देखिन्छे।’ त्यसैदिन देखि उसले विश्‍ववद्यालयमा गयल हुने सोख बढाइदिई।

अस्पतालबाट निस्केर हिर्की साइबर पसी। सुभासले दुईवर्ष पहिला पठाएका बिजुली चिठी पढी। त्यसपछि एक हप्ता अघि भएको कुराकानी सम्झी, ‘हिर्की तिमी मेरो साथीमात्र हौ।’ उसले तत्कालै फेसबुक डिएक्टिभेट गरी। अनि कोठामा फर्किएर सुती।

हातेफोन बज्यो।

‘बा?’

‘परिक्षा कस्तो भयो?’

‘ठिकै!’ ‘अब कहिले छ?’ ‘पर्सी।’ ‘अनि?’ ‘अनि सकिन्छ।’ ‘ल ठीक छ। हुन्छ।’

हिर्की राम्रैसँग अनियमित भई। उसले निदाउदा होइन ननिदाउदा आराम महसुस गर्न थाली। उसको टाउकोको दुखाई थप बढ्यो। खानेकुराको नियम टर्‍यो। अनि कुनामा सूर्य चुरोटका ठुटाको भिड बढ्यो।

‘Dear RASKOLNIKOV,

आज बिहान घरपट्टी कोठातलब लिन आयो।

मैले परीक्षा नदिएको कुरा बाबुले थाहा पाए। उनी फेरि जाँड खान थाले। उनको रक्तचाप थपिएको छ रे।

उनले पैसा पठाउन छोडिदिए।

म हिजो डाक्टरकहाँ गएकी थिएँ।

मैले कतिपटक भनिसके मलाई विगतको घोस्टले समात्छ? तर उसले मलाई हिजो पनि एउटै कुरा दोहोर्‍यायो, “इन्सोम्निया समस्या होइन।”

के हो त समस्या? के म आफै समस्या हुँ त रस्कोलनिकोभ?

परीक्षाको अघिल्लो दिन प्राध्यापकले एक हुल विद्यार्थीलाई बाह्र नम्बर घनत्त्वको प्रश्‍न आउने सूचना दियो। साथी हुनेहरूले एकले अर्कालाई जानकारी गराए अनि पक्‍का भएर परीक्षा कोठामा पसे। मेरो भागमा न साथी! न सुचना! मैले परीक्षा दिनु आवश्यक ठानिन।

पढेर समय नष्ट गर्नुको के अर्थ? अब मलाई प्राध्यापक हुने लोभ छैन।’

हिर्की यसपटक डाक्टरकहाँ गइन। ऊ सोझै औसधी पसलमा पसी।

‘मलाई नाइट्रेजिपाम चाहियो। मैले डाक्टरले लेखिदिएको चिर्कटो ल्याउन बिर्सेछु। कृपया अन्यथा नसोच्नुहोला। मेरी आमाले साँच्चै होस गुमाएकी छिन्।’

औषधी पसलेले हिर्कीलाई तलदेखि माथिसम्म अनि माथिदेखि तलसम्म नियाल्यो। फराकिलो अनुहारकी हिर्की औसत उचाइकी थिई। मानसिक बिचलनले ऊ हडबडिएकी थिई। उसको मुटुको गति बढेको थियो। अनि चिटचिट पसिना उसको अनुहारमा स्पष्टै देखिन्थ्यो।

‘विश्‍वास गर्नुस्, मेरी आमाले होस गुमाइसकेकी छिन्। केहिबेरपछि उनी भान्छाकोठामा पसेर चक्‍कु निकाल्नेछिन्। उनी आफैलाई घृणा गर्छिन्। प्रश्‍न भनिदिने प्राध्यापकलाई जत्ति नै। होइन, माफ गर्नुहोला। मेरो परीक्षा छ त्यसैले।’

ख्याउटे अनुहार भएको झुस्स दाह्री पालेको औषधी पसलेले अब आलेटाले गर्नु आवश्यक ठानेन। ऊ साँच्चै हतारियो।

‘राती सुत्नुअघि खानदिनुस्।’ ख्याउटेले सम्झाउनु आवश्यक ठान्यो। ‘थाहा छ। थाहा छ। धन्यवाद।’ हिर्की झर्की अनि रिस सहितको अनुहार हाँसी। ऊ तुरुन्तै फर्की।

हिर्कीले फेरि थोत्रिएको डायरी पल्टाई,

‘Dear RASKOLNIKOV,

मलाई के लाग्छ भने, एक दिन म साथीसँगबाट छुट्टिएर घर फर्के। बाबु पिढीमा बसिरहेका थिए। मलाई देख्‍ने बित्तिकै उनले सोधे, “कहाँ गएको थिइस्?” मेरो सातो गइसकेको थियो। मैले थर्थरी हुँदै भनेँ, “स्सा…थीकाँ”! “साथी? मेरा पनि थिए साथी।” बाबुले उही रवाफमा ओठ चलाए।

म विस्तारै साथीभाइबाट टाढा भागेँ। मैले सामाजिक जीवन घृणा गर्न थालेँ। त्यससमयमा म मात्र चौध वर्षकी थिएँ। सुन्यौ? म कसरी कठोर बनाइएँ?

अब तिमी मलाई सुभास सोध्छौ? सुभास त समयसँगै आएको माग हो। एक समय हामीले सँगसँगै हिँड्ने कोसिस गरेका थियौ। मैले उसलाई जम्माजम्मी तीनपटक भेटेँ। अहिले त्यो समय टरिसक्यो। फेरि त्यहि क्षण दोहोरिएला कि भनेर सोध्यौ तिमीले? अहँ सम्भव छैन! समय जो हो। गएपछि नफर्किने!

अब म वास्तविकतामा फर्किन्छु। अझै लामो कुराको के अर्थ!

म प्राध्यापकलाई एक सटमा पार लगाइदिनेछु। तर यो हत्यामा म मात्र संलग्न हुन्छु त? म सबैलाई भनिदिन सक्छु, प्राध्यापकको हत्यामा ऊ आफै पनि संलग्न छ। अनि अरुहरू पनि।

हत्याको खबर सुनेर मेरा बाबु फेरि जाँड खान छोड्नेछन्। उनी भोलि बिहानै आउनेछन्। पूर्ण होस सहित, मेरो अगाडी उभिएर सबैले सुन्‍ने गरी उनी बोल्नेछन्, “यो बर्बरताको युगमा तेरो इमान्दारिता बिक्दैनथ्यो!” त्यसपछि उनी कहिल्यै नगरेको काम गर्नेछन्। उनी मलाई अंगालो हाल्नेछन् अनि मेरो निधार सुम्सुम्याउनेछन्।

ओहो कति धन्य छन् मेरा बाबु! तिमी थाहा पाउछौ त? हो, उनैले हुर्काएका हुन् मलाई। प्रत्येक परिणाम समय हो। तिमीले बुझ्यौ रस्कोलनिकोभ? प्रत्येक परिणाम समय हो।

पाठक

हिर्की’

हिर्कीले सूर्य सल्काई र आँखा चिम्लेर मस्तसँग तानी। अनि ओठ चुच्याएर धुँवाको मुस्लो फुर्सदले फाली। र ऊ धुवाँसँगै हराई। उसको देब्रेपट्टी काँधमा जुटको झोला थियो। चुरोटले सातो लिदिएको चाल्नुझै प्वालैप्वाल झोलाभित्र क्राइम एन्ड पोनिसमन्ट र बिस गोली नाइट्रेजिपाम मात्र थियो।